
काठमाडौं । जेम्स क्यामरुन निर्देशित फिल्म ‘अवतार : द वे अफ वाटर’को आधिकारिक टिजर ट्रेलर रिलिज भएको छ । हलिउडको यो बहुप्रतीक्षित फिल्म आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुँदैछ ।
१ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा काल्पनिक पान्डोरा ग्रहमा त्यहाँका आदिवासीले आफ्नो ग्रह जोगाउन पृथ्वीबाट पुगेका मान्छेसँगको संघर्ष चित्रण गर्छ ।
फिल्मको मुख्य पात्र ज्याक सुलीको भूमिकामा साम वर्थिङ्टनले अभिनय गरेका छन् । ट्रेलरले पान्डोरा ग्रहको सौन्दर्यसँगै बहुमूल्य खनिज धातुको लोभमा उपनिवेश बनाउने चाहना बोकेको मानिससँगको संघर्षलाई पेश गर्छ ।
अवतारको यो दोस्रो श्रृंखलालाई पानीमुनि छायांकन गरिएको छ । कोरोना महामारी सुरु भएपछि न्युजिल्यान्डमा स्थापना गरिएको एक विशाल पौडीपोखरीको सेटमा फिल्म छायांकन गरिएको थियो ।
फिल्ममा नाभी नेयत्री अर्थात् नायिकाको भूमिकामा जोय साल्दानाले अभिनय गरेकी छन् । पहिलो भाग रिलिज भएको १३ वर्षपछि अवतारको दोस्रो श्रृंखला प्रदर्शन हुन लागेको हो ।
फिल्ममा भिन डिजेल र ‘टाइटानिक’ स्टार केट विन्सलेटको समेत विशेष भूमिका छ । टाइटानिकबाट ओस्कार जितेका छायांकार रसेल कार्पेन्टरले अवतार २ खिचेका हुन् ।
सन् २००९ मा रिलिज भएको ‘अवतार २’ले २.८४ बिलियन डलर कमाउँदै विश्व फिल्म इतिहासमा सर्वाधिक कमाउने फिल्मको कीर्तिमान राखेको छ । ‘अवतार’ रिलिजसँगै थ्रीडी युगको सूत्रपात मात्र भएन नयाँ निर्माण शैली र प्रविधिको थालनी समेत भयो ।
आगामी सेप्टेम्बर २३ अर्थात् दशैंको छेकोमा नेपालमा समेत ‘अवतार’को पुनः प्रदर्शन हुने जनाइएको छ ।
प्रतिक्रिया 4