
२०३५ सालमा झापामा जन्मिएका हेमकर्ण पौडेलले सुनसरीको इटहरीलाई राजनीतिक कर्मथलो बनाए । नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका वकृत्वकलाका धनी उनी इटहरीको जनता बहुमुखी क्याम्पसको स्ववियु सभापति चुनिपछि नेपाली कांग्रेसको आशा लाग्दा युवा नेताका रुपमा उदाए ।
नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुको किल्ला भत्काएका पौडेल त्यसपछि नेविसंघ, सुनसरीको सभापति बन्न चाहन्थे, तर कांग्रेसले उनलाई तरुण दलको जिल्ला सचिव बनायो । त्योसंगै इटहरी नगर सदस्यको जिम्मेवारी पनि दियो ।
त्यसबीचमा प्रखर वक्ताको परिचय बनाएका पौडेललाई पार्टीको १२औं र १३औं अधिवेशनबाट लगातार दुईपटक इटहरी उपमहानगर समतिको सर्वसम्मत सभापति बनायो ।
उपमहानगरको सभापतिको हैसियतले २०७४ को स्थानीय तह निर्वाचनमा मेयरको दाबेदार थिए उनी, तर टिकट पाएनन् । पार्टीको त्यो निर्णयविरुद्ध सानोतिनो आन्दोलन नै भयो । लगत्तैको प्रदेशसभा निर्वाचनमा पार्टीले टिकट दियो, तर उनले जित्न सकेनन् ।
कांग्रेसको १४औं अधिवेशनबाट इटहरी उपमहानगर समिति सभापतिमा ‘हृयाट्रिक’ गरेका पौडेलले योपाली मेयरको टिकट पाए । सत्तारुढ गठबन्धनका तीनजना आकांक्षिलाई उछिनेर टिकट लिएका उनी इटहरीको अन्तर-कुन्तर बुझेका उमेद्वार मानिन्छन् ।
गत स्थानीय निर्वाचनमा इटहरिको मेयरमा एमालेका द्धारिका चौधरी २२ हजार ६८९ मत ल्याएर विजयी भएका थिए । कांग्रेस उम्मेदवारले १९ हजार ९८५ मत पाएका थिए ।
उक्त निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेद्वार ३ हजार ३६४ मत पाएका थिए । यसपटक गठबन्धनकै हिसाबले मत खसे यो मत कांग्रेसका पौडेलले अघिल्लो पटक एमालेले पाएको भन्दा बढी हुनपुग्ने देखिन्छ ।
यसपटक जनता समाजवादी पार्टी (जसपा) र एमाले फुटेर बनेको नेकपा -एकीकृत समाजवादी) पनि गठबन्धनमा छ । यसले पौडेललाई अनुकुलता बढाएको छ । गठबन्धनको कागजी सम्झौतालाई मतमा बदल्ने चुनौती भने छ नै ।
त्यसरी गठबन्धन भावना जगाउन सके वर्षौंअघि जनता बहुमुखी क्याम्पसमा अनेरास्ववियुको किल्ला भत्काएजस्तै इटहरी उपमहानगरपालिकामा एमालेलाई पन्छाएर नेपाली कांग्रेसको नयाँ अध्याय सुरु गर्न सक्षम हुनेछन्, हेमकर्ण पौडेल ।
प्रतिक्रिया 4