सामाजिक सञ्जाल अहिले हरेकको पहुँचमा छ । अहिलेका पुस्ताले धेरै समय फेसबुक, म्यासेन्जर, ट्वीटर, टिकटक, युट्युब, ह्वाट्सअप, भाइबर जस्ता एप्लिकेसनमा बिताउँछन् ।
आवश्यकभन्दा बढी समय सामाजिक सञ्जालमा बिताउँदा यसले समय बर्बाद गर्ने मात्र नभई शारीरिक र मानसिक समस्या समेत निम्त्याउने जानकारहरु बताउँछन् । घण्टौं सामाजिक सञ्जालमा बिताउँदा मानिसमा तनाव, इन्जाइटी, डिप्रेसन जस्ता समस्या देखिन सक्छन् ।
हालै बेलायतको युनिर्भसिटी अफ बाथले एक साता सामाजिक सञ्जालबाट टाढा रहने हो भने मानसिक स्वास्थ्यमा सुधार ल्याउन सकिने तथ्य सार्वजनिक गरेको छ । एक साता सामाजिक सञ्जालबाट दूरी बनाउँदा मानसिक स्वास्थ्यमा सुधार आउने अनुसन्धानबाट खुलेको छ । यसले डिप्रेसन र एन्जाइटीको समस्याबाट पार पाउन मद्दत गर्छ ।
के हो डिजिटल डिटाक्स ?
जसरी मान्छेलाई मद्यपान र धुम्रपानको लत बस्छ, ठीक त्यसैगरी अहिले भर्चुअल संसारमासमय बिताउने लत बसेको छ । मानिसहरु चाहेर पनि यसबाट बाहिर आउन सकेका छैनन् । यस्तो डिजिटल कुलतबाट आफूलाई टाढा राख्नुलाई डिजिटल डिटाक्स भनिन्छ ।
शोधकर्ताले अनुसन्धानमा १८ वर्षदेखि ७२ वर्ष उमेरका १५४ जनालाई दुई समूहमा विभाजन गरेका थिए । जसमा पहिलो समूहलाई सामाजिक सञ्जालको पहुँचबाट टाढा राखियो भने दोस्रोलाई निरन्तर प्रयोग गर्न दिइयो । अनुसन्धानमा सहभागी भएकाहरुले दैनिक औसत आठ घण्टा सामाजिक सञ्जालमा समय बिताए ।
अनुसन्धानको एक सातापछि सहभागीहरुको तीनवटा परीक्षण गरियो । जसमा एन्जाइटी र डिप्रेसनसँग जोडिएका प्रश्न थिए ।
अनुसन्धानमा सामाजिक सञ्जालबाट एक साता टाढा रहने समूहका सहभागीको मानसिक स्वास्थ्य स्केल ४६ बाट बढेर ५५.९३ पुगेको पाइयो । त्यस्तै उनीहरुमा डिप्रेसनको लेभल ७.४६ बाट घटेर ४.८४ मा झर्यो भने एन्जाइटी ६.९२ बाट ५.९४ मा पुगेको पाइयो ।
सामाजिक सञ्जालबाट ब्रेक लिनु पनि फाइदाजनक
अनुसन्धाता जेफ लैबर्टले एक साता मात्रै सामाजिक सञ्जालबाट टाढा रहने समूहको मानसिक स्वास्थ्य राम्रो भएको र एन्जाइटीको समस्या समेत घटेको बताएका छन् । उनका अनुसार सामाजिक सञ्जालबाट केही दिनको विश्रामले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ ।
डेलीमेलको रिपोर्ट अनुसार बेलायतमा सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या सन् २०११ मा ४५ प्रतिशतबाट बढेर २०२१ मा ७१ प्रतिशत पुगेको छ । साथै १६ वर्षदेखि ४४ वर्ष उमेर समूहका ९७ प्रतिशत जनसंख्याले सामाजिक सञ्जाल प्रयोग गर्छन् ।
दैनिक भास्करबाट
प्रतिक्रिया 4