
२७ वैशाख, बुटवल । ५ फागुन २०२६ सालमा स्याङ्जाको आलमदेवीमा जन्मिएका खेलराज पाण्डेय २०३९ यता राजनीतिमा सक्रिय छन् । उनको राजनीति स्याङ्जामा हुँदै आदर्श माविमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को सदस्यताबाट सुरु भएको थियो ।
२०४४ देखि २०४६ सम्म काठमाडौंको अमृत साइन्स क्याम्पस (अस्कल)मा विद्यार्थी रहेका पाण्डेय त्यहाँ नेविसंघ इकाई सचिव बने । त्यसपछि बुटवल झरेका उनी २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति भए । त्यसयता बुटवललाई कार्यथलो बनाएका पाण्डेय कांग्रेस नगर सभापतिको तेस्रो कार्यकालमा छन् ।
२०५२ सालमा नेविसंघ रूपन्देही सचिव र २०५९ मा तरुण दलको रूपन्देही अध्यक्ष बनेका उनी २०६० मा तरुण दलको केन्द्रीय सदस्य र २०६७ मा कांग्रेसको बुटवल नगर सभापति बनेका थिए । २०७२ मा नगर विकास समिति बुटवलको अध्यक्ष समेत भएका उनले बुटवलका पुराना कांग्रेस नेता स्वर्गीय सूर्यप्रसाद प्रधानलाई मेयर र सांसद बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
२०७४ सालको स्थानीय निर्वाचनमा बुटवल उपमहानगरको मेयरका उम्मेदवार बनेका पाण्डेय नेकपा (एमाले)का शिवराज सुवेदीसँग २ हजार ३९८ मतले पराजित भए । त्यो बेला एमालेका तत्कालीन जिल्ला अध्यक्ष सुवेदीले २३ हजार २४९ र पाण्डेयले २० हजार ८५१ मत पाएका थिए ।
यसपटक सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार पाण्डेयले घरदैलो कार्यक्रममा जोड दिएका छन् । सरल, इमानदारको छवि बनाएका उनी बुटवलमा घर र गाडी नभएका नेतामा पर्छन् ।
कार्यकर्ताको सवारी साधनमा लिफ्ट मागेर पार्टी कार्यक्रम भ्याउने गरेका पाण्डेय स्याङ्जाबाट बुुवाले पठाइदिने अन्न र साथीभाइको सहयोगबाट आफ्नो, श्रीमती र एक छोराको गुजारा चलेको बताउँछन् ।
साधारण जीवनशैली र मिजासिलो व्यवहारका लागि विपक्षी दलका नेता–कार्यकर्ताबाट समेत प्रशंसित उनी मेयरमा आफ्नो दोस्रो पटकको उम्मेदवारी मतदाताबाट अनुमोदित हुने बताउँछन् ।
‘पैसाको फुर्तीफार्तीको जमाना छ, तर खेलराज सम्पत्ति कमाउन राजनीतिमा नलागेको कुरा बुटवलवासीलाई थाहा छ’ पाण्डेय भन्छन्, ‘त्यसैले, प्रतिस्पर्धी दलका मतदाताले पनि मलाई भोट दिनुहुन्छ र जित्छु भन्नेमा विश्वस्त छु ।’
२०५४ सालयता निरन्तर एमालेले जित्दै आएको बुटवलमा निवर्तमान मेयर शिवराज सुवेदीको कार्यकाल निकै आलोचित रह्यो । एमाले विभाजन, सयौं पार्टी सदस्यसहित नगर उपाध्यक्ष जितबहादुर मल्लको कांग्रेस पलायन र सत्तारुढ दलहरूको गठबन्धनले पाण्डेयलाई सहज बनाएको आकलन छ ।
एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेल गरेकाले कांग्रेसका पाण्डेयलाई पनि चुनौती छ । २४ हजारभन्दा बढी नयाँ थपिएर मतदाता संख्या ९० हजार ६५ पुगेको बुटवलको मेयरमा एमालेले बाबुराम भट्टराईलाई उठाएको छ ।
प्रतिक्रिया 4