
२७ वैशाख, वीरगञ्ज । नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले ६ वटै महानगरपालिकामा एमालेले जित्ने दावी गरेका छन् ।
वीरगञ्जमा पार्टीले आयोजना गरेको आमसभामा बोल्दै उनले त्यस्तो दावी गरेका हुन् । देशभरि ६० प्रतिशत पालिकामा एमाले एक्लैले जित्ने दावी उनले गरे । राप्रपा नेपाल, लोसपासँग तालमेल भएका ठाउँमा पनि एमालेले नै जित्ने उनको भनाइ छ ।
नीति, सिद्धान्त नमिले पनि गठबन्धनको नाममा सत्ताधारी दलहरु एक ठाउँमा पोको परेको आरोप उनले लगाए ।
‘नीति मिल्दैन, सिद्धान्त मिल्दैन, तर सबै एक ठाउँमा पोको परेका छन् । उनीहरुको उद्देश्य एउटै हो, एमालेलाई सिध्याउने । केपी ओलीले नेतृत्व गरेको एमालेलाई सिध्याउने’, उनले भने, ‘यही सभाबाट भन्न चाहन्छु, माधवकुमार नेपाल, शेरबहादुर देउवाहरु एमालेलाई सिध्याउने सपना नदेख, केपी ओली नेतृत्व गरेको एमाले सिध्दिदैन, एमाले हिजोभन्दा अझ सशक्त भएर मुलुकको नेतृत्वदायी भूमिकामा आफ्नो उपस्थित गर्नेछ ।’
बेला बेलामा हिन्दीसमेत बोलेका नेता पोखरेलले छिमेकी मुलुक भारतका प्रधानमन्त्रीसँग आँखामा आँखा जुधाएर बोल्न सक्ने व्यक्ति केपी ओली मात्रै भएको दावी गरे ।
नेता पोखरेलले वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयकुमार सरावगीले वीरगञ्जबासीको सपना पूरा गर्ने बताए ।
‘विजय सरावगीको तीन वटा कुराबाट म प्रभावित छु, एउटा विकास प्रेमी निष्कलंक मान्छे, मलाई लोभ लाग्थ्यो, यति राम्रो मान्छे एमालेमा आए हुन्थ्यो भन्ने लाग्थ्यो, आउनु पनि भयो’ उनले भने ।
पूर्व मन्त्री, सांसद एवं लोसपाका नेता बिमल श्रीवास्तवले वीरगञ्जको विकास चाहने कि विनाश रोज्ने भन्ने निर्णय गर्ने घडी आएको बताए । उनले स्थानीय चुनावका लागि नभएर आफ्नो र सन्तानको कुर्सी जोगाउन सत्ताधारी दलका नेताले गठबन्धन गरेको बताए ।
प्रतिक्रिया 4