
२८ वैशाख, बुटवल । नेकपा एमालेबाट बुटवल उपमहानगरपालिकाको मेयरको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराई बुधबार दिउँसो सुकुम्बासी बस्तीमा पुगेपछि स्थानीय कांग्रेस कार्यकर्ता र नाराबाजी गरेका छन् ।
भट्टराई बुटवल उपमहानगरपालिका–११ मजुवाको को सुकुम्बासी वस्तीमा पुगेपछि मत प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न आएको भन्दै कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेको हो । बुधबार दिउँसो प्रहरी पुगेपछि प्रहरीले उनलाई स्थानीय सिर्जना भूसालको घरमा फेला पारेको थियो ।
मजुवा टोलस्थित सिर्जना भूसालको छिमेकीको घरमा अन्य तीनजना महिलासहित पुगेकी भट्टराई कांग्रेस कार्यकर्ताले होहल्ला गरेपछि सिर्जनाको घरमा बसेकी थिइन् ।
नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका–११ का सभापति जितबहादुर मल्लले मतदातालाई पैसा बाँड्ने योजनाका साथ एमाले उम्मेदवारकी श्रीमती सुकुम्बासी बस्तीमा आएको दाबी गरे ।
‘एमालेले विगतमा पनि सुकुम्बासी वस्तीमा पैसा बाँडेर चुनाव जितेको हो, हामीले यसपालि त्यो रोक्न निगरानी गर्दै थियौं त्यही बेला शंकास्पद अवस्थामा भेटेका हौं’ मल्लले भने । कांग्रेस कार्यकर्ताले होहल्ला गरेपछि भट्टराई लुकेर बसेको मल्लले बताए । ‘घटना शंकास्पद थिएन भने लुकेर बस्नुपर्ने अवस्था किन आयो ?’
एमाले बुटवल–११ का अध्यक्ष दिनानाथ भट्टराईले भने उम्मेदवारकी पत्नी भट्टराई आफन्त भेट्न आएको बताए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले भट्टराईको खानतलासी गर्दा पैसा नभेटिएको बताए । मौन अवधिमा सुकुम्बासी बस्तीमा गएको विषयमा भट्टराईलाई सचेत गराएर छाडिएको उनले अनलाइनखबरलाई बताए ।
माया भट्टराईले भने भारतमा हालै क्यान्सर उपचार गराएर आएका बुटवल-११ माझगाउँ निवासी महेन्द्र अर्यालकी श्रीमती लीला अर्याललाई भेट्न गएको बताएकी छन् ।
त्यस क्रममा आफ्नी छिमेकी लक्ष्मी भट्टराईले भाडामा लगाएको घरमा गएको, सो घरमा भाडामा बस्ने रुपा थापासँग भेट गरी उनकी छिमेकी पार्वतीको घरमा बसेको बेला कांग्रेस कार्यकर्ताले घेराउ गरी प्रहरी बोलाएको भट्टराईले बताएकी छन् ।
हेर्नुहोस् माया भट्टराईको विज्ञप्ति
प्रतिक्रिया 4