+
+

‘आयोगले चाहे ७५३ वटै पालिकाका मतगणना स्थलमा सीसीटीभी जडान गर्न सकिन्छ’ 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २८ गते १९:२२

२८ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका मतगणना स्थलमा सीसीटीभी क्यामेराबाट निगरानी गर्ने निर्वाचन आयोगको लक्ष्य पूरा हुन सकेको छैन । निर्वाचन आयोगले सबै मतगणना स्थललाई केन्द्रबाट निगरानी गर्ने भन्दै सीसीटीभी जडानमा सहजीकरण गरिदिन स्थानीय तहलाई पत्राचार गरेको थियो ।

निर्वाचनलाई निष्पक्ष बनाउन आयोगले सुरु गरेको योजनालाई स्थानीय तहले त्यही रुपमा नबुझ्दा करिब ३८० स्थानीय तहका मतगणना स्थल मात्रै निर्वाचन आयोगमा जोडिएका छन् । निर्वाचन आयोगकै एक प्राविधिकले आयोगले परिपत्र गरेको अवस्थामा अझै पनि सबै स्थानीय तह केन्द्रमा जोडिन सक्ने अनलाइनखबरलाई बताए ।

निर्वाचन आयोगमा जोडिएको सफ्टवेयर भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टमबाट देशभरका मतगणनास्थलको अवस्था केन्द्रमा बसेर हेर्न मिल्नेछ । त्यसका लागि सबै स्थानीय तहले आयोगले तोकेको मापदण्डका सीसीक्यामेरा जडान गर्नुपर्ने हुन्छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै स्थानीय तह केन्द्रमा जोडियोस् भन्ने अपेक्षा रहेको र अझै पनि जोडिने क्रम रहेको बताए । उनले देशभर मतगणना भइरहेको दृश्यलाई आयोगको फेसबुक पेजबाट लाइभ गर्नेबारे समेत आयोगले सोचिरहेको बताए ।

आयोगले ७५३ वटै स्थानीय तहलाई मतगणना स्थलमा सीसीटीभी क्यामेरा राख्ने व्यवस्था गर्न भने पनि अधिकांशले जडान गरेका छैनन् । सबै स्थानीय तहमा क्यामेरा जडान गरेर केन्द्रमै बसेर निरीक्षण गर्दा चुनावलाई पारदर्शी, निष्पक्ष र धाँधलीरहित बनाउन सहयोग पुर्‍याउने पूर्वप्रमुख निर्वाचन आयुक्तहरु बताउँछन् ।

हालसम्म ३८० पालिकाको मतगणना स्थल निर्वाचन आयोगसँग जोडिसकेको छ । इन्टरनेटको पहुँच नभएका पालिकामा जडान गरिएका सीसीटीभीबाट हार्डड्राइभ केन्द्रमा मगाएर समेत हेर्न सकिन्छ । तर त्यस्ता स्थानीय तहको संख्या न्यून रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ ।

निर्वाचन आयोगमा केन्द्रीय सर्भर राख्ने जिम्मा पाएको बिध म्यानेजमेन्टले आयोगलाई सहयोग आवश्यक परे बाँकी स्थानीय तहमा एक दिनमै क्यामेरा जडान गरेर निगरानी गर्न सकिने बताएको छ । आयोगले आग्रह गरे काम गर्न सकिने बिध म्यानेजमेन्टले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?