
२८ वैशाख, काठमाडौं । श्री एयरलाइन्सको उडान नं २२३ बाट धनगढीका लागिे जहाज उड्दा सबै चिज सामन्य र नियमत थियो, जब जहाज २५ नटिकल माइल टाढा पुग्यो, त्यसपछि पाइलटले बाँया इन्जिनमा समस्या आएको पत्तो पाए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका निर्देशक टेकनाथ सिटौलाका अनुसार चालक दलका सदस्य र यात्रु गरी ८७ जना लिएर उडेको जहाज करिव धादिङ कटेर मनकामना मन्दिर आसपास पुगिसकेको अवस्था थियो ।
सामान्यतया आकाशमा उडिरहेको जहाजमा समस्या आउँदा पाइलटले जोखिम हेरेर सबैभन्दा नजिकको विमानस्थलमा जहाज अवतरण गराउने निर्णय लिन्छन् । श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरका अनुसार बाँया इन्जिनमा समस्या आएको इन्डिकेटरमा देखिएको थियो ।
यात्रुबाहक जहाजमा दुई वटा इन्जिन हुन्छन्, एउटा इन्जिनका आधारमा मात्र उड्दा जोखिम हुने भएकाले काठमाडौं फिर्ता ल्याएर सुरक्षित अवतरण गरिएको हो ।
इन्जिनमा के समस्या आएको हो भन्ने विषयमा भने कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले जाँच गरेपछि मात्र भन्न सकिने कम्पनीले जनाएको छ ।
‘इन्डिकेटरमा इन्जिनमा समस्या आएको देखिएपछि एउटा इन्जिन बन्द गरी जहाजलाई सुरक्षित रुपमा अवतरण गराइएको हो,’ मानन्धरले भने, समस्या के थियो भन्ने चाँहि प्राविधिक जाँच पछि मात्र भन्न सकिन्छ ।’
मानन्धरका अनुसार जहाज अवतरण गरिसकेपछि उडानबाट धनगढी उडेका यात्रुलाई बुधबार नै अर्को जहाजबाट पठाइएको छ ।
त्रिभुवन विमानस्थलका एक प्राविधिकका अनुसार एउटा इन्जिन फेल हुनु आकाशमा उडिरहेको जहाजका लागि निकै कठीन परिस्थिति हो ।
यस्तो बेला पाइलटले सकेसम्म सुविधा सम्पन्न विमानस्थलमा आकस्मिक अवतरण गर्नु बुद्धिमतापूर्ण हुन्छ । यसो गर्दा आपतकालीन अवस्थामा पाइने सुविधाहरुका कारण अपि्रय घटना भइहालेमा पनि कम क्षति हुन्छ ।
ती प्राविधिकका अनुसार पाइलटले इन्जिन फेल भएको जानकारी काठमाडौं टावरलाई गराउना साथ आकासमा रहेका अन्य जहाजलाई आफ्नो क्षेत्रमा होल्ड गराएर श्रीको जहाजलाई प्राथमिकता दिइएको थियो ।
अन्ततः जहाज अपरान्ह सवा १२ बजे त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गर्यो । विमानस्थलका निर्देशक सिटौलाका अनुसार जहाजमा आएको समस्याबारे प्राधिकरणको टोलीले चेकजाँच गर्नेछ । त्यसपछि उडानयोग्य भएको प्रमाणित भएपछि मात्र सो जहाजले उडानको अनुमति दिइने छ ।
प्रतिक्रिया 4