
२९ वैशाख, विराटनगर । मोरङका १७ वटै पालिकामा मतगणना स्थल तयार भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार सबै पालिकामा मतगणना स्थल तयार भएको हो ।
उनका अनुसार मतगणना स्थललाई सुरक्षित बनाउनका लागि तारजाली गरिएको छ । गणनास्थलमा सीसी क्यामेरा पनि जडान भएको छ । ‘सीसी क्यामेरा केन्द्रबाट मनिटरिङ हुनेगरी जडान गरिएको छ,’ उनले भने, ‘मतगणनाको सबै तयारी पूरा भइसकेको छ ।’
उनका अनुसार शुक्रबार हुने मतदानका लागि मतदान केन्द्र निर्माणको काम पनि पूरा भएको छ ।
‘मतदान केन्द्र सबै तयार भइसकेका छन्’, उनले भने, ‘सुरक्षा व्यवस्था पनि कडा बनाएका छौं ।’ निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।
‘पानी पर्न सक्ने भएकाले पूर्व तयारीका लागि सबै मतदानस्थलमा पूर्व तयारी गरिएको छ,’ उनले भने, ‘मतदाता परिचय पत्र बाँड्ने काम सकिएको छ ।’
मोरङका १७ वटा स्थानीय तहमा ४ हजार ३४६ जना उम्मेदवार छन् । १७ पालिकामा १४२ जना प्रमुख तथा अध्यक्षका उम्मेदवार छन् ।
विराटनगरमा धेरै उम्मेदवार छन् । महानगरपालिकामा १३ जना मेयरसहित १४ जना उपमेयर, वडाध्यक्षमा १६२, दलित महिला सदस्यमा १२१, महिला सदस्यमा १२८, सदस्यमा २८५ जनाको उम्मेदवार छन् ।
काठमाडौंमा भन्दा बढी मतदाता मोरङ जिल्लामा छन् । एक महानगरसहित १७ पालिका मोरङमा ७ लाख १७ हजार ६७ मतदाता छन् । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता छन् ।
केराबारी गाउँपालिकामा २३ हजार ९९० मतदाता छन् । लेटाङमा २८ हजार ४१०, मिक्लाजुङ गाउँपालिकामा २४ हजार ९३, उर्लाबारी नगरपालिकामा ४४ हजार २७२, पथरी नगरपालिकामा ५१ हजार ३३० मतदाता रहेका छन् ।
रतुवामाई नगरपालिकामा ४३ हजार ५ सय ७४, सुनबर्सी नगरपालिकामा ३४ हजार ५४९, रंगेली नगरपालिकामा ३७ हजार १ सय ८७, कानेपोखरी गाउँपालिकामा ३४ हजार ४५, बेलबारी नगरपालिकामा ५७ हजार २ सय ९, सुन्दरहरैचा नगरपालिकामा ७१ हजार ७५६ मतदाता छन् ।
बुढीगंगा गाउँपालिकामा २८ हजार १५९, ग्रामथान गाउँपालिकामा २५ हजार ९ सय २४, कटहरी गाउँपालिकामा २६ हजार ६३, धनपालथान गाउँपालिकामा २५ हजार ७७६, जहदा गाउँपालिकामा २७ हजार ५१५ मतदाता छन् ।
प्रतिक्रिया 4