
३० वैशाख, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले निर्वाचनमा जित–हारलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए ।
उनले भने, ‘जितमा अनावश्यक हौसिने र पराजयमा निराश हुनु हुँदैन ।’ उनले राजनीतिक रुपले अप्ठ्यारो स्थितिमा आफूहरुले गठबन्धन गरेको पनि उनले बताए । जिते पनि, हारे पनि नतिजा स्वीकार गर्ने उनले बताए ।
गणतन्त्रपछिको स्थानीय तहको दोस्रो स्थानीय तह निर्वाचनमा सबै नागरिक उत्साहपूर्वक सहभागी हुन उनले अपिल गरे । शान्तिपूर्ण निर्वाचन सम्पन्न हुनेमा आफूले विश्वास लिएको उनले बताए ।
आचारसंहिता उल्लंघन गरेको बारे निर्वाचन आयाेगले साेधेकाे ८ घण्टे स्पष्टीकरणका सम्बन्धमा साेधिएकाे प्रश्नमा उनले आफूलाई त्यसबारे जानकारी नभएको बताए । मानिस मरेको ठाउँमा भेट्न जाँदा आचारसंहिता उल्लंघन गरेको भनेर प्रचार गरिएको उनको दावी छ ।
उनले अहिलेकाे सत्ता गठबन्धन अझै लामाे समयसम्म जाने बताए ।
प्रचण्डले भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार रेनु दाहालसँगै भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गरेका हुन् । रेनु सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।
एमालेका तर्फबाट मेयर उम्मेदवार रहेका विजय सुवेदीले भरतपुर–१२ स्थित मोहन माविबाट मतदान गर्दैछन् । मोहन माविमा ७ वटा मतदान केन्द्र छन् । यहाँ ७ हजार ५६ जना मतदाता छन् । सुवेदीलाई मेयरमा राप्रपाले समर्थन गरेको छ ।
कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भरतपुर–७ स्थित कृष्णपुर माविबाट मतदान गर्दै छन् । कृष्णपुर माविमा पनि ७ वटा मतदान केन्द्र छन् ।
विवेकशिल साझाका मेयर उम्मेदवार प्रविन काफ्लेले भरतपुर–१० स्थित बालमन्दिर आधारभूत विद्यालयबाट मतदान गर्दै छन् । बालमन्दिरमा चार वटा मतदान केन्द्र छन् ।
प्रतिक्रिया 4