
३० वैशाख, काठमाडौं । काठमाडौंमा उपत्यकामा नियमित फोहोर नउठेको दुई हप्ताभन्दा बढी भइसक्यो । शुक्रबार स्थानीय तह चुनावका दिनमा पनि काठमाडौं उपत्यकाका अधिकांश सडक, चोक र गल्लीमा फोहोरको प्रशस्तै डङ्गुर देखिएका छन् । मतदानको दिनमा समेत स्थानीय तहहरूले फोहोर उठाउन चासो दिएन ।
मतदाताहरु नाक थुन्दै मतदानस्थलसम्म पुगिरहेका छन् । १४ दिनपछि गत शनिबारबाट फोहोर उठ्न थालेको थियो । तर, दुई दिनपछि ल्यान्डफिल साइटमा फोहोर पुर्ने, माटो सम्याउने डोजरहरु बिग्रिएपछि फोहोर उठन बन्द भएको थियो ।
महानगरपालिकाले मुख्य चोकहरुमा रहेका फोहोर उठाएर टेकको ट्रान्सफर स्टेसन लैजान थालेपनि सडकमा फोहोर थुप्रिन रोकिएको छैन । चुनावअघि सडकको फोहोर उठाउन काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उपत्यकाभित्रका अन्य नगरपालिकाले चासो पनि दिएनन् ।
यसअघि ११ वैशाखदेखि २३ वैशाखसम्म काठमाडौंको फोहोर उठेको थिएन । पासाङ ल्हामु राजमार्ग निर्माणको ढिलाइ भएको भन्दै स्थानीय पटक-पटक फोहोरको गाडी रोक्दै आएका छन् । तर, पछिल्लोपटक चुनावसम्म यस्तो अवरोध नगर्ने सहमति भएपछि फोहोरको विसर्जन सुरु भएको थियो ।
त्यसअघि १८ चैतदेखि २९ चैतसम्म फोहोर उठेको थिएन । फागुन महिनामा मात्रै काठमाडौंमा १९ दिन फोहोर उठाउने काम रोकिएको थियो । यसअनुसार फागुनयता मात्रै ४५ दिन फोहोर उठ्न नसकेको देखिन्छ ।
सरकारी तथ्यांकअनुसार सामान्य अवस्थामा काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेको छ । काठमाडौंबाट दैनिक औसत ५१७ टन र ललितपुर महानगरपालिकासहित आसपासका नगरबाट ५३७ टन फोहोर उठ्नुपर्ने हो ।
तर, अब सडक अवरुद्ध भएर फोहोर उठाउने काम पटक-पटक बन्द हुँदा काठमाडौंमा प्रदूषण फैलिएको छ ।
नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहोर निस्कने हुँदा फोहोर व्यवस्थापनका हिसाबले थप चुनौतीपूर्ण बनेको छ । हाल उपत्यकाभर १५ देखि २० हजार टन फोहोर थुप्रिएको अनुमान छ । तर, दैनिक करिब १ हजार टन मात्रै फोहोर ल्यान्डफिल साइट जानसक्छ ।
तर, फोहोर नै उठ्न लगभग छाडेकाले अब कहिलेसम्म फोहोरको विसर्जन नियमित हुन्छ भन्ने निश्चित छैन ।
प्रतिक्रिया 4