
३० वैशाख, पोखरा । पोखरामा सत्तारुढ गठबन्धनले मतदातालाई चिट बाँडेपछि होहल्ला भएको छ ।
पोखरा उपमहानगरपालिका– १६ का तीनवटा मतदान केन्द्रमा सत्तारुढ गठबन्धनका कार्यकर्ताले लाइनमा बसेका मतदातालाई स्वस्तिक छाप लगाएको चिट बाडेपछि नेकपा एमालेका कार्यकर्ताले आपत्ति जनाएको हो । चिट बाँड्ने एक युवकलाई एमाले कार्यकर्ताले लखेटेपछि सशस्त्र प्रहरी बलले उनलाई नियन्त्रणमा लिएको छ ।
विन्दवासिनी मावि ग, चण्डिका मावि र अन्नपूर्ण मावि मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेका २०० जना भन्दा बढीलाई चिट बाँडेको पाइएको नेकपा एमालेका नेता विनोदराज अधिकारीले बताए ।
‘एक जनालाई समात्यौं, यस्तो नगराउन सचेत गराएर सशस्त्र प्रहरी बलको जिम्मा लगाएका छौं’ उनले भने, ‘शान्तिपूर्ण रुपमा मतदान गर्न पाउनुपर्छ । यसरी घुसपैठ गर्नुहुँदैन । निर्वाचन आयोग र सुरक्षाकर्मीको गम्भीर ध्यानाकर्षण गराएका छौं ।’
पोखरामा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।
गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले तालमेल गरेको पद चिनाउने गरी चिट बनाएर मतदातालाई वितरण गरेका हुन् ।
प्रतिक्रिया 4