
३० वैशाख, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका १०३ वर्षीय खड्गबहादुर राउतले मतदान गरेका छन् ।
विक्रम संवत १९७६ साल चैत ५ गते जन्म मिति भएका राउतले शुक्रबार दिक्तेलको पञ्च माबि मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले आफ्नो परिवारको सदस्यको सहयोगमा मतदान गरेको मतदान अधिकृत खेम ढुंगेलले बताए । आफै राम्ररी हिँडडुल गर्न नसक्ने राउतलाई परिवारका सदस्यले डोराउँदै मतदान केन्द्र पुर्याएका थिए ।
खोटाङमा बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ । १० स्थानीय तह रहेको जिल्लामा १३६ मतदान स्थल र १९४ मतदान केन्द्र तोकिएका छन् ।

निर्वाचनमा जिल्लाका १ लाख ४३ हजार ७५२ मतदाताले मताधिकार प्रयोग गर्दैछन् । ४१५ जनप्रतिनिधिका लागि १ हजार २८१ जनाको उम्मेदवार चुनावी मैदानमा छन् । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए ।
मतदान स्थलको सुरक्षार्थ नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ । प्रत्येक मतदान स्थलमा ८ देखि १८ जना प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । प्रत्येक पालिकामा शसस्त्रको तीन वटा र नेपाल प्रहरीको दुई वटा मोबाइल टोली परिचालन गरिएको छ । प्रत्येक पालिकामा नेपाली सेनाको अलग–अलग स्टेशन बनाइएको छ ।
प्रतिक्रिया 4