
३० वैशाख, दाङ । घोराही उपमहानगरपालिका-१५ की ८० वर्षीया दुर्गा थापा धेरै हिंडडुल गर्न सक्दिनन् । बुढेकालले कमजोर बन्दै गएका हातगोडाले उति साथ दिंदैनन् । तैपनि उनी शुक्रबार स्थानीय तहको निर्वाचनमा मतदान गर्न पुग्दा उत्साहित देखिन्थिन् । छोराबुहारीसँगै लाइनमा बसेर उनले हौसिंदै मतदान गरिन् ।
जीवनमा कतिपटक भोट हालिनन् भन्ने उनलाई याद छैन । तर थुप्रै पटक भोट दिएर असल नेता भने जिताएको उनलाई सम्झना छ । ‘चुनाव राम्रो मान्छेलाई भोट दिएर जिताउने बेला हो,’ उनले भनिन्, ‘काम गर्ने मान्छेले भोट दिए, काम गर्छ विकास ल्याउँछ ।’
घोराही उपमहानगरपालिका–१५ की ६० वर्षीया विष्णीकुमारी विश्वकर्माले पनि आफ्नो जीवनकालमा थुप्रै पटक भोट हालिन् । यसपटक उत्साहित हुँदै उनी मतदानमा सहभागी भइन् । उनलाई आफूले जिताएको मान्छेले गाउँठाउँको विकास गर्छ र आफ्ना समस्या बुझ्छन् भन्ने विश्वास व्यक्त गरिन् । उनी राम्रो मान्छेले चुनाव जित्नुपर्छ भन्ने चाहन्छिन् । त्यहीकारण आफूले पनि काम गर्ने विकास गर्ने र आफ्नो समस्या बुझ्न सक्नेलाई भोट दिएको उनले बताइन् । ‘राम्रो मान्छेलाई भोट दिए, दु:खी गरिबलाई हेर्छन्, सेवा गर्छन्,’ उनले भनिन् ।
घोराही–१४ कै कविराज विश्वकर्मा पनि पञ्चायतकालदेखि नै भोट हाल्दै आएका छन् । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको एकाबिहानै मतदान गरेर आराम गर्दैगर्दा उनी भेटिए । यसपटकको चुनावसम्म आइपुग्दा उनमा नेताहरुले विकास गर्छन् भन्ने कुरामा आफू आशावादी भएको बताए ।
चुनावमा जितेर गएका जनप्रतिनिधिले विकास गर्छन् भन्नेमा उनी आश्वस्त छन् । ‘हिजो पनि नेताहरुले विकास गरेका हुन्, अब पनि गर्छन्,’ उनले भने, ‘राम्रो मान्छेलाई चुनेपछि विकास गर्छन् ।’ बाटोघाटो बनाउने र गाउँठाउँको विकास गर्ने मान्छेलाई भोट दिएको बताए ।
प्रतिक्रिया 4