
३० वैशाख, दमौली । भानु नगरपालिका वडा नं ५ वरभञ्याङकी ११३ वर्षकी गोपीमाया पोखरेल लौरो टेक्दै महादेवता प्राविमा रहेको मतदान केन्द्रमा पुगिन् ।
उनलाई मतदान गर्न छोरा चोपकान्त पोखरेल र तारानाथ पोखरेलले सहयोग गरे । यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको बताउँदै गोपीमायाले भनिन्, ‘जितेकाहरुलाई आफ्नो ठाउँको विकास गर्न हौसला मिलोस् ।’
व्यास नगरपालिका–१ गल्बुबेंशीका एक सय वर्षका कृष्णप्रसाद पण्डितले पनि वडा नम्बर ४ मा रहेको मदरसा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरे ।
बिहानै एक जना उम्मेदवारको गाडीमा चढेर मतदान केन्द्र पुगेका उनी मतदान गर्न पाउँदा खुशी देखिए । ‘मतदान गर्न पाएँ, यस्तो देख्न पाएँ, धेरै खुसी लागेको छ’ उनले भने, ‘सबैले मेरो उमेरमा पनि मतदान गर्न पाउन् ।’
व्यास नगरपालिका–६ देउरालीका ६० वर्षीय सोमबहादुर र भीमकुमारी शाही दम्पती झण्डै डेढ घण्टा हिँडेर मतदान गरे । नयाँ जनप्रतिनिधिले विकास गर्छन् भन्ने आशा राखेको उनीहरुले बताए । भीमकुमारी भन्छिन्, ‘नयाँ जनप्रतिनिधि आउने रे, अब केही परिर्वतन त होला नि ।’
संघीयता कार्यान्वयनमा आएपछि शुक्रबार देशभर एकसाथ दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले शान्तिपूर्ण र उत्साहजनक वातावरणमा मतदान भइरहेको बताए ।
प्रतिक्रिया 4