
काठमाडौं । अन्डरवर्ल्ड डन दाउद इब्राहिममाथि भारतको नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) अरु कठोर बन्दै गएको छ । बिहिबार मध्यराती मुम्बईको पश्चिमी क्षेत्रमा छापा मारेर दुई यस्ता व्यक्ति पक्राउ गरिएको छ, जो दाऊदका लागि पैसा संकलन गरिरहेका थिए । उनीहरुलाई हिरासतका लागि विशेष अदालतमा पेश गरिएको छ ।
उनीहरुमध्ये एक जना ५९ बर्षीय अबूबकर शेख र अर्का ५१ बर्षीय शब्बीर शेख रहेका छन् । यी दुबै आतंककारी समूहका लागि पैसा जुटाउने काममा सक्रिय थिए । उनीहरुले खासगरी बलिउडलाई धम्क्याएर पैसा असुल गर्दै आएको बताइन्छ । सुरक्षाका कारण नेशनल इन्भेस्टिगेसन एजेन्सीले दुबैलाई गोप्य स्थानमा राखेको छ ।
दुबै जना दाऊदका निकटका सहयोगी रहेको खुलेको छ । साथै उनीहरु छोटा शकीलसँग सोझो सम्पर्कमा थिए । शकील बिरुद्ध इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छ । मुम्बईबाट बाहिर बसेर फिरौती, लागुऔषध र आतंकवाद फैलाउने काम गरिरहेका थिए, छोटा शकील ।
भारतको नयाँ दिल्ली, मुम्बईसहित अरु ठाउँमा हिंसा भड्काउनका लागि जिम्मेवार ‘आतंकवादी कोष’माथि एनआइएले खोजी गरिरहेको थियो । यसै सिलसिलामा विभिन्न १९ स्थानमा खोजतलास गरिएको थियो । सोधपुछको क्रममा दाउदका दिवंगत बहिनी हसीना पारकरका छोरा र दाऊदका सहयोगी छोटा शकीलका जेठाजुलाई पनि हिरासतमा ल्याइएको थियो । साथै अन्य २० जनासँग पनि सोधपुछ गरिएको थियो । एनआइएका अनुसार दाउद र उनीसँग जोडिएका लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद र अल कायदासहित अन्तर्राष्ट्रिय आतंकवादीसँग साठगाँठ छ ।
दाऊदले लगातार मुम्बईमा पैसा असुल्ने काम गरिरहेको थियो । एनआइएका अनुसार डी कम्पनीको अन्तर्राष्ट्रिय आतंकवादी सञ्जालमा दाऊद इब्राहिम र उनका सहयोगी हाजी अनीश, छोटा शकील, जावेद पटेल र टाइगर मेमन सामेल छन् ।
डी कम्पनीले विस्फोटक र घातक हतियार प्रयोग गरेर राजनेता, व्यापारी र अन्य मान्छेहरुमाथि आक्रमण गर्नका लागि एक विशेष इकाईको स्थापना गरेको पाइएको छ । उनीहरु यस्तो योजना बनाइरहेका थिए, जसले भारतको राजधानीसहित अन्य क्षेत्रमा हिंसा भड्काउने काम गर्छ ।
प्रतिक्रिया 4