
३० वैशाख, चितवन । चितवनका ७ पालिकामा निर्वाचन सकिन आधा घण्टा बाँकी रहँदासम्म ७० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार नगर क्षेत्रमा ७० प्रतिशत र ग्रामीण भेगहरूका ६५ प्रतिशत मत खसेको छ । जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।
साँझ ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए । ‘मतदान केन्द्रमा संख्या निकै पातलो भइसकेको छ, त्यस्तो भिड छैन, अब केहिबेरमा सकिन्छ’ कार्यालय प्रमुख कार्कीले भने, ‘अहिलेसम्म शान्तिपूर्ण रूपमा नै मतदान भइरहेको छ ।’
चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन् । १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन् । प्राय: गरेर विद्यालयलाई नै मतदान स्थलका रुपमा प्रयोग गरिएको छ ।
भरतपुरमा सत्तारुढ गठबन्धनले मतदातालाई चिट बाँडेको गुनासो आएपछि मतदान केन्द्रहरुको अनुगमन गरी चिट नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइएको कार्यालय प्रमुख कार्कीले बताए । केही मतदान केन्द्रमा चिटसहित मतदाता भेटिएपछि विवाद भएको थियो ।
प्रतिक्रिया 4