
३० वैशाख, विराटनगर । प्रदेश १ की प्रदेशसभा सदस्य सावित्राकुमारी रेग्मीले मतदान गर्न पाइनन् । निर्वाचन आयोगले उनको नामावली सुन्दरहरैचा नगरपालिकामा सारिदिएपछि उनले भोट हाल्न नपाएकी हुन् ।
२०४५ सालदेखि विराटनगर बस्दै आएकी उनले यसअघिका निर्वाचनमा पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर ३ स्थित पुसेट कलेज मतदान केन्द्रबाट मतदान गर्दै आएकी थिइन् । तर यो पटक मतदान गर्न नपाएको उनले बताइन् ।
‘वर्षौदेखि यहीबाट भोट हालेको, हिजो हेर्दा नाम भेटिन’ उनले भनिन्,‘ निर्वाचन आयोगले सुन्दरहरैचा नगरपालिका–९ मा सारिदिएको रहेछ ।’
उनले आयोगको लापरबाहीका कारण मतदान गर्न नपाएको उनको भनाइ छ । ‘सुन्दरहरैचामा न माइती न मावली’ उनले भनिन्,‘आयोगले लापरबाही गरेपछि जान सकिनँ, सच्याउन आग्रह गर्दा पनि भएन ।’
रेग्मी विराटनगरकी स्थायी बासिन्दा हुन् । उनी तत्कालीन नेकपा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । हाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।
प्रतिक्रिया 4