
३१ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाका दुई वटा वडामा फर्जी मत हालेर धाँदली गरेको भन्दै एमालेले पुनः मतदान गर्न माग गरेको छ ।
वडानम्बर ३ र ६ मा मतदानका क्रममा खटिएका स्थानीय कर्मचारीहरूले बदमासी गरेर मतपेटिकामा फर्जी मत खसालेको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेको हो ।
सर्वदलीय बैठकमा सहभागी नेकपा एमालेका प्रदेश कमिटी सचिव धर्मराज पाठकले वडानम्बर ३ मा मतदान गर्नुअघि नै मतपेटिकामा मतपत्र देखिएको र वडानम्बर ६ मा एउटा मान्छेको नामबाट अरुले मत खसालेकोले पुनः मतदान गर्नुपर्ने माग गरिएको बताए ।
‘निर्वाचनमा खटिएका स्थानीय तहका कर्मचारीले बदमासी गरेर फर्जी काम गरेका छन् । त्यस्ता कर्मचारीहरूलाई तत्काल कारबाही गरिनुपर्छ’ पाठकले भने, ‘सोही कारण हामीले वडा नम्बर ३ र ६ मा पुनः मतदान गर्नुपर्ने माग राखेका छौं । अहिले पनि छलफल जारी छ ।’
बैठकमा एमाले मात्र नभएर राप्रपा नेपालले पनि यी वडामा पुनः मतदानको माग गरेको छ । तर नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले भने पुनः मतदान गर्ने भए दुई वडामा मात्र नभएर १९ वटै वडामा गनुपर्ने माग गरेपछि बैठकमा सहमति जुट्न सकेको थिएन ।
धनगढी उपमहानरपालिका-३ मतदान गर्नुअघि नै मतपेटिकामा मतपत्र देखिएको र ६ मा नेकपा एमालेका वडा कमिटी अध्यक्ष गंगाराम भट्टलगायतका व्यक्तिहरूको नामबाट अरुले नै मत दिएको दाबी एमालेले गरेको छ ।
प्रतिक्रिया 4