
३१ वैशाख, वीरगञ्ज । पर्साका ४ पालिकामा मतगणना जारी छ । अन्य पालिकामा पनि आजैदेखि मतगणना गर्ने तयारी भइरहेको छ ।
१४ वटा पालिकामध्ये छिपहरमाई, ठोरी, धोविनी र पटेर्वा सुगौलीमा मतगणना जारी छ ।
वीरगञ्ज महानगरपालिकामा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ भने सखुवाप्रसौनी गाउँपालिकामा मध्यान्ह १२ बजेदेखि मतगणना सुरु गर्ने निर्णय भएको छ ।
पर्साको पोखरीया, पर्सागढी र बहुदरमाई नगरपालिकामा सर्वदलीय बैठक जारी छ ।
जगरनाथपुर गाउँपालिकामा शुक्रबार राति एउटा मतपेटिकाको सिल टुटेको भेटिएपछि त्यहाँ तनाव उत्पन्न भएको थियो । अहिले मतगणका लागि सर्बदलीय बैठक बसिरहेको छ ।
बिन्दबासिनी गाउँपालिकामा राजनीतिक दलका प्रतिनिधि नआउँदा मतगणना सुरु गर्न नसकिएको निर्वाचन अधिकृत अरुणकुमार कोइरालाले जानकारी दिए ।
जिराभवानी गाउँपालिकामा मतगणनाका लागि सर्बदलीय बैठक जारी छ भने कालिकामाई गाउँपालिकामा मतणनाका लागि तयारी भइरहेको छ ।
पकहाँमैनपुर गाउँपालिकामा राति नै सर्वदलीय बैठक बसाएर बिहान १० बजेदेखि मतगणना गर्ने भनिएपनि दलका प्रतिनिधि नआइपुगेकोले मतगणना सुरु हुन नसकेको निर्वाचन अधिकृत कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
प्रतिक्रिया 4