
३१ वैशाख, काठमाडौं । सत्ता साझेदार दलहरुबीच भागबण्डा गर्दा जनता समाजवादी पार्टी (जसपा) को भागमा परेको जनकपुर उपमहानगर पालिका र नेकपा एकीकृत समाजवादीको भागमा परेको धुलिखेल नगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेद्वारले अग्रता लिएका छन् ।
पार्टी निर्णय नमानेको भन्दै कांग्रेसले कारबाही गरेपनि गठबन्धनका उम्मेद्वार पछि पार्दै बागी उम्मेदवारले अग्रता लिएका हुन् । जनकपुर उपमहानगर पालिकाको सुरुवाति नतिजामा कांग्रेसका बागी उम्मेद्वार मनोज साहले फराकिलो अग्रता बनाएका छन् ।
मनोजले २५९ मत ल्याउँदा गठबन्धनबाट उम्मेद्वार बनेका निवर्तमान मेयर लालकिशोर साहले ३६ मत मात्रै पाएका छन् । मनोजलाई नेकपा एमालेका शिवशंकर साहले पछ्याइरहेका छन् । उनले १०५ मत ल्याएका छन् ।
धुलिखेल नगरपालिकामा पनि कांग्रेसकै बागी उम्मेद्वारले अग्रता लिएका छन् । पार्टी निर्णय विपरीत उम्मेद्वारी दिएको भन्दै कांग्रेसले नगर सभापतिबाट कार्बाही गरेका बिदुरबहादुर बस्नेतले ५७२ मतसहित अग्रता लिएका छन् । बस्नेतलाई एमालेका अशोककुमार ब्याञ्जुले पछ्याइरहेका छन् ।
निवर्तमान मेयर ब्याञ्जुले ४६७ मत ल्याएका छन् । तर गठबन्धनबाट उम्मेद्वार बनेका एकीकृत समाजवादीका दयासागर श्रेष्ठ १८ मत मात्रै पाएका छन् ।
प्रतिक्रिया 4