
१ जेठ, विराटनगर । मोरङको सुनवर्षी नगरपालिकाको दुईवटा वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर १ र २ मा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
सुनवर्षी निर्वाचन अधिृकतको कार्यालयका अनुसार वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार वीरबहादुर राई १ हजार २११ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हेम राईले १ हजार ३७ मत पाए ।
वडा नम्बर २ को वडाध्यक्षमा कांग्रेसकै विनोदकुमार राजवंशी १ हजार ९६ मतसहित विजयी भएका छन् । राजवंशीका प्रतिस्पर्धी एमालेका गोविन्दबहादुर श्रेष्ठले ६१७ मत ल्याए ।
धनपालथान–१ मा माओवादी केन्द्र
मोरङको धनपालथान गाउँपालिका-१ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार खाजा हुसैन मिया निर्वाचित भएका छन् । हुसेनले ५८२ मत ल्याएका छन् । उनका प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार मुबारक मियाले ४३० मत प्राप्त गरे ।
कानेपोखरी–७ र कटहरी–१ मा एमाले
मोरङको कानेपोखरी गाउँपालिकामा एक र कटहरी गाउँपालिकामा एक वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । कटहरी-१ को अध्यक्षमा एमाले उम्मेदवार हरिनारायण राजवंशी निर्वाचित भएका छन् । उनले ९६० मत प्राप्त गरे । निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका विश्वनाथ माझीले ८४९ मत ल्याए ।
मोरङकै कानेपोखरी गाउँपालिका-७ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । वडाध्यक्षमा मोहन अधिकारी प्यानलसहित विजयी भएका हुन् । अधिकारी यसअघि पनि वडाध्यक्ष थिए । १ हजार ३२८ मत ल्याएर अधिकारी वडाध्यक्षमा निर्वाचित हुँदा निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमृत चेम्जोङले १ हजार मत ल्याए ।
यसैगरी कानेपोखरी-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका रत्नबहादुर कार्की विजयी भएका छन् । कार्कीले १ हजार १०८ मत ल्याएका छन् । एमाले उम्मेदवार तोर्णबहादुर कार्कीले ८५२ मत ल्याएका थिए ।
प्रतिक्रिया 4