
२ जेठ, तनहुँ । म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार निवर्तमान अध्यक्ष मायादेवी रानालाई ७१८ मतान्तरले पराजित गर्दै श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले चार हजार ९५० ल्याए भने रानाले चार हजार २३२ मत ल्याइन् ।
२०७४ सालको निर्वाचनमा काङ्ग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए ।
उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले चार हजार दुई सय मत प्राप्त गरिन् । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएका हुन् । गाउँपालिकामा कूल १८ हजार एक सय पाँच मतदाता रहेकामा ११ हजार नौ सय ४३ मत खसेको थियो ।
म्याग्देमा नेकपा एमालेले तीन वडा र काङ्ग्रेसले चार वटा वडामा वडाध्यक्ष जितेका छन् । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा नेपाली काङ्ग्रेसले जितेको छ ।
गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत ल्याए ।
प्रतिक्रिया 4