
संयुक्त राज्य अमेरिकामा जुलाई र अगष्ट महिनामा स्कुल विदा हुन्छ। त्यसलाई समर विदा भनिन्छ। यो समयमा अमेरिकामा घाम लाग्ने, आकाश खुल्ने र दिन लामो हुने भएकोले सपरिवार घुम्न डुल्न जाने चलन छ। केटाकेटीहरूलाई समर क्याम्पमा भर्ना गरिदिने पनि चलन छ।
अमेरिकामा तीन लाख जति नेपाली पुगिसकेका छन्। लगभग एक लाख जति परिवार भएको अनुमान गर्न सकिन्छ। यीमध्ये अधिकांश नेपाली आर्थिक स्थिति कमजोर रहेको र दुवै दम्पती काममा व्यस्त रहनुपर्ने भएकोले छोराछोरीका लागि घुम्ने डुल्ने समय निकाल्न सक्तैनन् र घुम्ने डुल्ने आर्थिक हैसियत पनि राख्तैनन्। नेपालबाट आएको पहिलो पुस्तामा विदामा घुम्ने डुल्ने बानी र संस्कारको विकास भएको पनि हुँदैन। निजी संस्थाहरूले चलाउने बालबालिकाको ग्रीष्म शिविर (समर क्याम्प) मा राख्न उनीहरूलाई आर्थिक रूपले सम्भव हुँदैन।
क्रिश्चियन चर्चहरूले आफ्नो समुदायका केटाकेटीहरूका लागि धार्मिक उद्देश्य राखेर विभिन्न क्रियाकलाप संगठित रूपले चलाएका हुन्छन्। यस क्षेत्रमा उनीहरूको लामो परम्परा र अनुभव पनि छ। तर सीमित स्रोत र साधनबाट सञ्चालित हिन्दु मन्दिरहरूले यस्तो गतिविधि चलाउन सकेका छैनन्।
तसर्थ यस्ता नेपालीलाई लक्षित गरेर नेपालमा एक महिने वा दुई महिने समर क्याम्प चलाउन सकियो भने यो नेपालका स्थानीय बासिन्दा र ती प्रवासी नेपाली परिवार दुवै लाभान्वित हुनसक्छन्। यसले नेपालमा पर्यटनको एक नयाँ संभावना पनि खोल्न सक्छ।
स्कुल विदा हुँदा अमेरिकामा कार्यरत नेपाली दम्पतीका लागि एउटा समस्या आउँछ। नेपालमा जस्तो केटाकेटीलाई कसैको निगरानी विना एक्लै छाड्न र स्वतन्त्र रूपले हिंड्न–डुल्न दिन मिल्दैन। चौबीसै घण्टा कोही न कोही उनीहरूको गोठालो बसेको हुनुपर्छ। केटाकेटीलाई हप्काउन, गाली गर्न मिल्दैन। घर बाहिर पार्कमा उनीहरूलाई डुलाउन दम्पतीहरूलाई समय उपलब्ध पनि हुँदैन। बाहिर निस्केर हिंड्न, डुल्न उपयुक्त हावापानी पनि सधैं उपलब्ध हुँदैन। फेरि उनीहरू कामको व्यस्तता तथा अन्य विविध कारणले थकित र मानसिक रूपले विचलित पनि हुन्छन्।
विदाका बेलामा केटाकेटीहरू कोठाभित्र आइप्याड हेरेर बस्ने लतले गर्दा उनीहरू एकोहोरा हुने, ग्याजेटसँग मात्र रमाउने, आफ्नै बाबुआमासँग टाढिने, समूह र समाजमा घुलमिल हुन नसक्ने जस्ता समस्या आउँछन्। यसरी हुर्केका कतिपय केटाकेटी किशोर उमेरमा डिप्रेसनले पीडित पनि हुन सक्छन्। विदाको समयभरि कुनै सिर्जनात्मक र मनोरन्जनात्मक क्रियाकलापमा सहभागी बनाइराख्न समर क्याम्प उपयोगी हुन्छ।
काठमाडौं शहरदेखि बाहिर कुनै शीतोष्ण तापक्रम भएको पानी, बिजुली र सुरक्षित आवास भएको सानो शान्त पहाडी गाउँमा होम स्टेको रूपमा ती केटाकेटीलाई राख्न सकिन्छ। नेपालको प्राकृतिक सौन्दर्य र पारिवारिक वातावरणमा उनीहरू रमाउन सक्छन्। हँसिला र फुर्सदिला स्थानीय केटाकेटीसँग घुलमिल भएर खेल्न सक्छन्। बिहान–बेलुका परिवारका सबै सदस्य एकै ठाउँ भेला भएर सँगै खाना खाएको देख्ने मौका पाउँछन्।
नेपालमा सबै कुरा नराम्रो मात्र रहेनछन्, राम्रा कुरा पनि धेरै रहेछन् भन्ने कुरा उनीहरूले देख्न पाउँछन्। नेपाली भाषा र संस्कृति उनीहरूले सिक्ने मौका पाउँछन्। आफ्ना सन्तानले नेपाली भाषा राम्रोसँग नजान्नु अमेरिका बस्ने पहिलो पुस्ताका लागि गम्भीर चिन्ताको विषय पनि हो। क्याम्पमा नेपाली भाषा, गणित, नेपाली नाचगान, वाद्यवादन, खेलकुद जस्ता कक्षाहरू पनि सञ्चालन गर्न सकिन्छ। समर क्याम्पबाट स्थानीय शिक्षकहरूले आंशिक रोजगारी प्राप्त गर्नेछन्। होम स्टे मार्फत लाखौं र करोडौं रुपैयाँ गाउँमा भित्रिन सक्छ।
तर सबै कुरा भनेजस्तो सजिलो चाहिं छैन। समर क्याम्प सञ्चालन गर्नु कठिन काम पनि हो। अमेरिकाबाट केटाकेटीको समूह नेपाल ल्याउन कानुनी रूपमा केही समस्या हुनसक्छ। बालबालिकाको सुरक्षा र संरक्षकत्वको मामिलामा अमेरिकी सरकार धेरै संवेदनशील छ। सम्बन्धित बाबुआमाको सहमति भएतापनि उनीहरूको सुरक्षा र संरक्षकत्वको जिम्मा कुनै भरपर्दो संस्थाले लिएर मात्र नेपाल लैजान पाउँछ। अरुका छोराछोरीको जिम्मा लिनु भनेको जो कसैका लागि पनि एउटा कठिन जिम्मेवारी हो।
यस्ता केटाकेटीहरूलाई राख्नका लागि होम स्टे उपलब्ध गराउने गाउँमा हरेक घरमा सफा शौचालय, नुहाउनलाई ग्यास गिजर र डाइनिङ टेबल जस्ता आधारभूत सुविधा उपलब्ध हुनु अनिवार्य छ। ती केटाकेटीमा रोगसँग लड्ने क्षमता कम हुने भएकोले खानपिनको स्वच्छता आवश्यक हुन्छ। शान्त परिवेशमा बस्ने बानी परेका उनीहरूका अगाडि हप्काउने, ठूलो आवाजमा बोल्ने, झगडा गर्ने, खुला ठाउँमा खसी कुखुरा काट्ने जस्ता गतिविधि गर्नुहुँदैन। क्याम्प अवधिभर उनीहरूलाई खेल्ने, रमाइलो गर्ने र मन खुसी बनाउने काममा निपुण मेन्टरहरूको सेवा आवश्यक हुन्छ, आफ्ना बाबुआमाबाट अस्थायी रूपले भए पनि टाढिएका केटाकेटीहरूलाई सम्हाल्न सक्ने गरी पारिवारिक माया–प्रेम उपलब्ध गराउन सक्ने क्षमता भएको मान्छे हुनुपर्छ।
अमेरिकामा ग्रीष्म ऋतु हुँदा नेपालमा बर्खा र हिलो हुनसक्छ। त्यस्तो समयमा खोलानाला, पहाडी भीर पहरामा उनीहरूलाई जोगाएर राख्न चौबीसै घण्टा प्रत्यक्ष निगरानी उपलब्ध गराउनुपर्छ। एयर कण्डिसनमा सुत्ने बानी परेका केटाकेटीलाई सुरु–सुरुमा नेपालको बसाइ केही अप्ठ्यारो पनि लाग्न सक्छ। उनीहरूका लागि आकस्मिक स्वास्थ्य सुविधा पनि तम्तयार हुनुपर्छ। परिआएको खण्डमा तुरुन्तै अस्पताल लैजान सकिने स्थान हुनुपर्छ।
यसरी समर क्याम्पमा आएका केटाकेटीले धेरै पैसा खर्च नगर्ने भएकोले नाफामूलक उद्देश्यले सञ्चालित ट्राभल एजेन्सी आकर्षित हुँदैनन्। यो सबै कुरा हेर्दा यो काम झण्झट धेरै उपलब्धि थोरै जस्तो लाग्छ। स्थानीय बासिन्दाद्वारा सञ्चालित होम स्टे मात्र विकल्प हुनसक्छ।
गैरआवासीय नेपाली संघ र नेपाल सरकारले सहकार्य गर्ने हो भने अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोप र जापानबाट हरेक साल नेपाली बालबालिकालाई नेपाल ल्याएर क्याम्प सञ्चालन गर्न असम्भव छैन। यो अभियानबाट विदेशमा बस्ने नेपाली र नेपालको स्थानीय ग्रामीण समुदाय दुवै लाभान्वित हुनेछन्।
समर क्याम्प राम्रोसँग चल्न सक्यो भने नेपालीभाषी मात्र होइन, अन्य मुलुकका विविध सम्प्रदायका अभिभावक समेत आकर्षित हुनसक्छन्। यसरी समर क्याम्पले पर्यटनको एउटा प्रमुख हिस्साकै रूप लिन सक्छ।
हालः भर्जिनिया, संयुक्त राज्य अमेरिका
प्रतिक्रिया 4