
२ जेठ, काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेले ठूलो धक्का व्यहारेको छ । मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट चुनिँदा एमाले दुई महिला सदस्यमा सीमित भएको छ ।
जबकी २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी मतान्तरले हराए ।
यो पटक कांग्रेसले राजकुमारलाई नै उम्मेदवार बनाउँदा एमालेले निवर्तमान मेयर रमेश महर्जनको साटो केशरत्न बज्राचार्यलाई उम्मेदवार बनायो ।
तर नजिता एमालेको पक्षमा आएन । कांग्रेसले मेयर, उपमेयर, १० मध्ये ९ वडाध्यक्ष र ३३ वडा सदस्य जितेको छ । जबकी अन्यत्र गठबन्धन गरेको माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कीर्तिपुरमा कांग्रेससँग प्रतिस्पर्धामा थियो । त्यसका बाबजुद कांग्रेसले जबर्जस्त जित निकालेको छ ।
नकर्मी ९ हजार ४३ मतका साथ मेयरमा निर्वाचित हुँदा एमालेका बज्राचार्यले ५५०७ मत मात्र पाए । उपमेयरमा पनि कांग्रेसकै शुभलक्ष्मी शाक्य चुनिइन् । उनले ८६६५ मत ल्याउँदा एमालेकी उम्मेदवार विन्दु महर्जनले ७२०६ मत पाइन् ।
माओवादी केन्द्रबाट मेयरका उम्मेदवार बनेका शिवशरण महर्जनले ४०९० र उपमेयरका उम्मेदवार सुशीला बस्नेतले २२४० तथा एकीकृत समाजवादीका मेयरका उम्मेदवार वटुकृष्ण थापाले ११५३ तथा उपमेयरकी उम्मेदवार कमला महर्जनले ८७२ मत पाएकी छन् ।
वडाध्यक्ष, वडा सदस्य र महिला सदस्यमा एक/एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । एमालेले भने खुला वडा सदस्य समेत जित्न सकेन ।
वडाअध्यक्ष र सदस्यमा पनि कांग्रेसकै दबदबा छ । वडा नम्बर ४ बाहेक सबै वडाध्यक्ष कांग्रेसले जितेको छ । वडा सदस्यमा पनि कांग्रेस हावी छ ।
वडा नम्बर ४ मा भने स्वतन्त्र उम्मेदवार छन् । कैची चुनाव चिह्न पाएका स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी वडाध्यक्ष चुनिँदा दिनेशचन्द्र दाहाल खुला सदस्य, सुमित्रा थापा महिला सदस्य र सुलिना परियार स्यावा दलित महिला सदस्यमा निर्वाचित भएका छन् ।
एमालेले चुनाव जितेको एउटा पद हो, वडा नम्बर ३ मा दलित महिला सदस्य । एमालेकी सुष्मा विश्वकर्मा ६९९ मतका साथ निर्वाचन भइन् । वडा नम्बर ८ मा भने एमालेकी सरस्वती परियार निर्विरोध निर्वाचित भएकी थिइन् । वडा नम्बर १० को दलित महिला सदस्यमा माओवादी केन्द्रकी मञ्जु परियार निर्वारोध चुनिएकी छन् ।
बाँकी सबै कांग्रेसले जितेको छ ।
प्रतिक्रिया 4