
३ जेठ, सुर्खेत । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का कर्णबहादुर बुढाथोकी विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी नेकपा (एमाले)का गोविन्दकुमार पुनलाई पराजित गरेका हुन् ।
माओवादीका कर्णबहादुर बुढाथोकीले ७४६६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका गोविन्दकुमार पुनले ४७२० मत ल्याएका छन् । पुन निवर्तमान अध्यक्षसमेत हुन् ।
मेयरमा विजयी भएका बुढाथोकी ०७४ को निर्वाचनमा पुनसँगै पराजित भएका थिए । त्यसबेला पुनलाई कांग्रेसले सहयोग गरेको थियो । कांग्रेसले अहिले बुढाथोकीलाई सहयोग गरेको हो ।
यस्तै, उपमेयरमा नेपाली कांग्रेसका पुरुषोत्तम आचार्यले ५७३५ ल्याएर विजयी भएका हुन् । आचार्यले स्वतन्त्र उम्मेदवार दीपेन्द्र विष्टलाई पराजित गरेका हुन् । दीपेन्द्रलाई एमालेले समर्थन गरेको थियो ।
बनगाड कुपिण्डेमा नगरपालिका सल्यानका दुई ठूला नेता, एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका गुलाबजङ शाहको गृह पालिकासमेत हो । एमालेको वर्चश्व रहेको यो पालिकामा एमाले फुटेर एकीकृत समाजवादी बनेपछि एमालले आफ्नो विरासत गुमाएको छ ।
स्वयंम ज्वाला र शाहले समेत आफ्नै वडामा हार बेहोर्नु परेकोछ । बनगाड कुपिण्डे-१, खहरेखोला निवासी ज्वालाको पार्टीले आफ्नै वडामा हार व्यहोर्नुपर्याे । यो वडामा कांग्रेसले जितेको छ ।
नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतकसमेत रहेका गुलावजंग शाहको वडानम्बर ७ मा एमालेको लज्जास्पद हार व्यहोरेको छ । यो वडामा माओवादी केन्द्रले जितेको छ ।
प्रतिक्रिया 4