
३ जेठ, काठमाडौं । ललितपुर महानगरपालिकाका चार वडाको मत परिणामलाई विश्लेषण गर्दा नेपाली कांग्रेसका मेयर उम्मेदवारलाई रुचाएका मतदाताले कांग्रेसका वडाध्यक्षका प्रत्यासीलाई भने अस्वीकार गरेका छन् ।
ललितपुर महानगरमा हालसम्म वडा नम्बर १, २, ३ र ५ को मतगणना सकिएको छ । ती चार वडामा कांग्रेसका मेयर उम्मेदवार चिरीबाबु महर्जनले स्पष्ट बहुमत ल्याएर अघि बढ्दा सोही दलका वडाध्यक्षका प्रत्यासी पराजित भएका छन् । चिरीबाबु ती वडामा पाएको मत र कांग्रेसका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मतान्तर फराकिलो छ ।
चिरीबाबुले वडा नम्बर १ मा ८७७ मत ल्याएका छन् । कांग्रेसका उम्मेदवारले वडामा जित निकाल्न सकेनन् । कांग्रेसका वडाध्यक्ष उम्मेदवार ध्रुवलाल तण्डुकारले ४२५ प्राप्त गरी पराजय भोगे । कांग्रेसका मेयर उम्मेदवार र वडाध्यक्ष उम्मेदवारले पाएको मतको अन्तर ४५२ छ । कांग्रेसबाटै बागी उठेर पुतली चिन्हबाट उठेका निर्मल तण्डुकारले जित निकाले । उनले ६६१ मतसहित जित निकाल्दा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले दोस्रो स्थानमा चित्त बुझाए ।
कांग्रेस उम्मेदवारले एमालेका वडाध्यक्षका प्रत्यासीले भन्दा बढी मत भने प्राप्त गरेका थिए । एमालेका वडाध्यक्ष उम्मेदवार दिनेश तण्डुकारले ३५१ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा यस वडामा कांग्रेसका निर्मल तण्डुकार विजयी भएका थिए ।
ललितपुर वडा नम्बर २ का मतदाताले पनि चिरीबाबुलाई अन्यलाई भन्दा बढी मत दिए । तर त्यहाँका मतदाताले कांग्रेसका वडाध्यक्षलाई भने पत्याएनन् । वडा नम्बर २ मा चिरीबाबुले २ हजार ६९ मत पाउँदा वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विनयप्रसाद जोशीले ५६० मत पाए । जोशीले पाएको मत भन्दा चिरीबाबुले पाएको मत चार गुणा बढी छ । मेयरका उम्मेदवार र कांग्रेसका वडाध्यक्षले प्राप्त गरेको मतको अन्तर एक हजार ५०९ छ । यस वडाका मतदाताले वडाध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवारलाई विजयी गराए । कलम चुनाव चिन्हमा राजेश महर्जनलाई एक हजार ८३० मत दिएर विजयी बनाए ।
एकीकृत समाजवादीबाट वडाध्यक्षमा विजयी जोशीले भन्दा चिरीबाबुले २३९ मत बढी ल्याएका छन् । कांग्रेसका वडाध्यक्ष तेस्रो स्थानमा पुगे । एमालेका उम्मेदवारले ६०४ मत ल्याएर दोस्रो स्थानमा रहेर पराजित भए । अघिल्लो निर्वाचनमा यस वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।
हालसम्म मत गणना भएका वडामध्ये सबैभन्दा बढी मत ललितपुर–३ बाट चिरीबाबुले प्राप्त गरे । यस वडामा चिरीबाबुले पाएको मत २ हजार ७४ छ । यस वडामा पनि कांग्रेसका वडाध्यक्षले जित निकाल्न सकेनन् । कांग्रेसका वालकृष्ण महर्जनले ८४२ मत ल्याएर हार व्यहोरे । चिरीबाबुले कांग्रेसका वडाध्यक्ष उम्मेदवारले भन्दा एक हजार २३२ मत बढी ल्याएका छन् ।
एकीकृत समाजवादीबाट श्रीगोपाल महर्जनले जित निकाले । उनले एक हजार ४९६ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका वडाध्यक्षसँगको मतान्तर ६५४ बनाए । एमालेका वडाध्यक्ष उम्मेदवारलाई भने कांग्रेसले पछि पारेको छ । एमालेका वडाध्यक्ष अष्टबहादुर महर्जनले ३८६ मत ल्याएका छन् । २०७४ सालको निर्वाचनमा श्रीगोपालले एमालेबाट विजयी भएका थिए ।
मत गणना सकिएका वडा नम्बर ५ मा पनि कांग्रेसका वडाध्यक्ष विजयी हुन सकेनन् । मेयरका उम्मेदवारले सर्वाधिक मत ल्याउँदा समेत वडाध्यक्षले कांग्रेसबाट पराजय भोगे । चिरीबाबुले वडा नम्बर ५ को मतगणना सकिंदा मेयरका अन्य उम्मेदवारले भन्दा बढी मत ल्याए । उनले ९२३ मत वडा नम्बर ५ बाट प्राप्त गर्दा कांग्रेसका वडाध्यक्ष उम्मेदवारले ५९२ मत ल्याएर पराजित भए । यस वडामा चिरीबाबुलाई भन्दा बढी मत वडामा विजयी एमालेका उम्मेदवारलाई गएको छ । एमालेबाट विकासमान श्रेष्ठले १ हजार ७९ मत ल्याएर सहित वडाध्यक्षमा विजयी हुँदा कांग्रेसका सञ्जीव पाण्डे ५९२ मत प्राप्त गरे । कांग्रेसका मेयर र वडाध्यक्षका उम्मेदवारले पाएको मतको अन्तर ३३१ छ । श्रेष्ठले अघिल्लो निर्वाचनमा पनि एमालेबाट जितेका थिए ।
मत गणना सकिएका चारवटा वडाबाट चिरीबाबुले आफ्नो पक्षमा ५ हजार ९४३ मत पारेका छन् । कांग्रेसबाट पराजय भोगेका चार वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको कुल मत २ हजार ४१९ छ । गणना सकिएका वडामा चिरीबाबुलाई कांग्रेसका वडाध्यक्ष उम्मेदवार भन्दा ३ हजार ५२४ मत आएको छ ।
मत गणनाको क्रममा ललितपुरमा फरक प्रकृतिको तथ्य पनि आएको छ । सत्ता गठबन्धनबाट ललितपुर महानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार छन् । कांग्रेसले उपमेयरको उम्मेदवार बनाएको छैन । यद्यपि, कांग्रेसको चुनाव चिन्ह रुखमा मत खसेको छ । हालसम्म रुख चुनाव चिन्हमा उपमेयर पदका लागि २ हजार १३६ मत खसेको छ । सत्ता गठबन्धनका उपमेयरका उम्मेदवार बाबुराज बज्राचार्यले हालसम्म २ हजार ५१७ मत ल्याएका छन् ।
गणना सकिएका वडाको प्राप्त मत विवरण :
वडा नम्बर १ : कुल मत १ हजार ७२६
मेयर
कांग्रेस : ८७७
एमाले : ४०२
राप्रपा : १०८
उपमेयर
एमाले : ४४४
माओवादी केन्द्र : १८१
राप्रपा : १८९
वडा नम्बर २ : कुल मत ३ हजार ५५४
मेयर
कांग्रेस : २ हजार ६९
एमाले : ७११
उपमेयर
एमाले : ९३२
माओवादी केन्द्र : ७६८
वडा नम्बर ३ : कुल मत ३ हजार २८४
मेयर
कांग्रेस : २ हजार ७४
एमाले : ५५९
राप्रपा : १७२
उपमेयर
माओवादी केन्द्र : ७९४
एमाले : ६९२
राप्रपा : २७३
वडा नम्बर ५ : कुल मत १ हजार ८५२
मेयर
कांग्रेस : ९२३
एमाले : ७२०
राप्रपा : ५८
उपमेयर
एमाले : ८३०
माओवादी केन्द्र : १७८
राप्रपा : ९०
प्रतिक्रिया 4