
४ जेठ, दाङ । दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल (विश्वास) निर्वाचित भएका छन् । उनी ६९०९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सर्वजित डीसीले ६१६७ मत पाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार सहजराम यादव भने यसपटकको निर्वाचनमा पराजित भए । यादवले ४१३१ मत पाए ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवार शारदा चौधरी निर्वाचित भइन् । उनले ५१८१ मत पाइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता कुमारी चौधरीले ४ हजार ८३० मत पाइन् ।
माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एकीकृत समाजवादीकी शान्ति चौधरी भने पराजित भइन् । उनले ४११२ मत मात्र पाइन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष चुनिएकी थिइन् ।
गढवा गाउँपालिकामा जम्मा ८ वटा वडाहरु हुन् । चार वटा वडा माओवादीले जित्दा एमाले र कांग्रेसले२/२ वटा वडामात्र जितेका छन् ।
एमालेमा फुटको असर
अघिल्लो स्थानीय तह निर्वाचनमा गढवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको थियो । अध्यक्षमा सहजराम अहिर ३ हजार ६७७ मतसहित र उपाध्यक्षमा शान्ति चौधरी ३ हजार ५३५ मतसहित निर्वाचित भएका थिए ।
एमाले विभाजनपछि निवर्तमान अध्यक्ष एमालेमै उपाध्यक्ष शान्ति एकीकृत समाजवादीमा लागिन् र माओवादी केन्द्रसँग तालमेल गरेर फेरि उपाध्यक्षमा प्रतिस्पर्धा गरिन् । तर अध्यक्ष पद माओवादीले जित्दा उपाध्यक्षमा शान्ति पराजित भइन् ।
अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीले प्यानलै जितेको वडा नम्बर आठ कोइलाबास क्षेत्र यसपटक एमालेले प्यानलसहित जितेर सुखद सुरुवात गरेको थियो तर अन्य वडाका परिणाम उसका लागि सुखद रहेन ।
२०७४ सालमा एमाले गाउँपालिकामा पनि पहिलो पार्टी बनेको थियो । माओवादी केन्द्र दोस्रो र नेपाली कांग्रेस तेस्रो स्थानमा थिए । तर यसपटक माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा तीव्र हुँदा एमाले तेस्रो स्थानमा रह्यो ।
गाउँपालिकाको निवर्तमान अध्यक्ष सहजरामको घर भएकै वडा नम्बर २ मा माओवादी केन्द्रका भक्तु चौधरी विजयी भए । त्यसो त अघिल्लो निर्वाचनमा पनि सो वडामा भक्तु नै अध्यक्ष चुनिएका थिए ।
तुलनात्मक रुपमा एमालेको राम्रो मत रहेको भनेर चिनिएको वडा नम्बर १ को अध्यक्षमा एमालेकै बाबुराम अधिकारी चुनिए । वडा नम्बर २ मा माओवादी केन्द्रका भक्तु चौधरी, वडा नम्बर ३ मा माओवादी केन्द्रका तुलसीराम अधिकारी, वडा नम्बर ४ मा माओवादी केन्द्रका हरिभगत चौधरी, वडा नम्बर ५ मा कांग्रेसका लेखबहादुर थापा, वडा नम्बर ६ मा माओवादीका बीरबहादुर आलेमगर, वडा नम्बर ७ मा कांग्रेसका राहुलदेव चौधरी र भारतसँग सीमा जोडिएको वडा नम्बर ८ कोइलाबास क्षेत्रको अध्यक्षमा अब्दुल खालिक सिद्दिकी एमालेबाट निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4