
४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थलमा समाचार संकलनका लागि गएका पत्रकारमाथि नेकपा एमालेका नेताले दुर्व्यवहार गरेका छन् । मत गणनाका क्रममा विवाद भएपछि नाराबाजी गर्दै गरेका नेतासँग प्रतिक्रिया लिने क्रममा एमाले नेता दामोदर बैरागीले अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्की दिएका हुन् ।
नेता बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख सागरराज तिमिल्सिनामाथि धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । ‘विवाद भएर नाराबाजी भइरहेको ठाउँमा हामी पुगेका थियौं । त्यतिबेला नेकपा एमालेले मत गणना रोक्न नाराबाजी गरिरहेको थियो,’ एपीवान टीभीका तिमिल्सिनाले भने, ‘त्यहीबेला कुटपिट गर्न उनले कार्यकर्तालाई आदेश दिएका हुन् ।’ अनलाइनखबरकर्मी अमृत सुवेदीले पनि आफूलाई मतगणना स्थलबाट बाहिर निकालिदिने धम्की दिएको बताए ।
रिपोर्टिङमा रहेका पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले खेद प्रकट गरेको छ । महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कुनै पनि बहानामा पत्रकारमाथि दुर्व्यवहार सह्य नहुने बताइन् ।
‘यो वा त्यो बहानामा पत्रकारमाथि दुर्व्यवहार गर्न पाइँदैन । अझ त्यसमाथि रिपोर्टिङमा खटिएको पत्रकारमाथि दुर्व्यवहार भएको छ,’ अध्यक्ष भण्डारीले भनिन्, ‘लोकतन्त्रमा प्रेसमाथिको यो प्रहार सह्य हुँदैन ।’
प्रतिक्रिया 4