
४ जेठ, सप्तरी । सप्तरीको तिरहुत गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा पनि कांग्रेसकै वीणादेवी यादवनी विजयी भएकी छन् ।
यादव ३ हजार ५५६ मत ल्याएर विजयी हुँदा निवर्तमान मेयर समेत रहेका जसपाका उम्मेदवार हेमन्तकुमार बहरखेरले २ हजार ९८६ मत पाए । यादव स्थानीय तह निर्वाचनको केही समयअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टीबाट कांग्रेस प्रवेश गरेका थिए ।
उपाध्यक्षमा निर्वाचित वीणदेवीले ३ हजार ५१ मत ल्याइन् भने उनकी निकटतम प्रतिस्पर्धी जसपाकी रामवती देवी मण्डलले ३ हजार २० मत ल्याइन् ।
चौथो प्रयासमा सफल बनेका यादव
विद्यार्थी जीवनबाटै कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका विजयकुमार यादव २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा तत्कालीन डिमन गाविसको अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए । तर उनी २९ मतले पराजित भए ।
पहिलो चुनावमा पराजित भए पनि निराश नभएका उनी लगातार राजनीतिमा लागिरहे । २०६३ सालको मधेश आन्दोलनपछि उनी तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)मा प्रवेश गरे । र, २०६४ चैत २८ गते भएको पहिलो संविधानसभाको निर्वाचनमा उनी सप्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवार भए । यद्यपि, उनी पराजित भए ।
दोस्रो पटक पराजित भए, फेरि पनि उनले हरेस खाएनन् । २०७० सालमा भएको दोस्रो संविधानसभालाई नियालेका उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा तिरहुत गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवारी दिएका उनी ८ सय मत अन्तरले पराजित भए ।
तर यस पटकको चुनावमा उनको भाग्य चम्कियो । र, उनी निर्वाचित भएका छन् । निर्वाचनको केही दिनअघि उनी कांग्रेसमा प्रवेश गरेका थिए ।
‘जनताले यस पटक मलाई जिताएका छन्, जनताकै लागि काम गर्छु,’ यादवले भने, ‘जर्जर रहेको गाउँपालिकाको समग्र अवस्थालाई सुधार्नका लागि प्रयत्नशील रहनेछु ।’
प्रतिक्रिया 4