
५ जेठ, बुटवल । २०४९ सालसम्म नेपाली कांग्रेसको दबदबा रहेको बुटवल उपमहानगरपालिकामा २५ वर्षयता नेकपा एमालेले एकछत्र ‘राज’ ग¥यो । २०५४ यताका स्थानीयदेखि प्रतिनिधिसभा सम्मका सबै चुनावमा एमाले भारी मत अन्तरले जित्दै आएको थियो । २०७० सालको संविधानसभा चुनावमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई एमालेका विष्णु पौडेलले पराजित गरेपछि बुटवल एमालेको ‘किल्ला’कै रुपमा परिभाषित भएको थियो ।
२०७४ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमालेले मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई हराएर बुटवलमा आफ्नो बलियो वर्चश्व कायम गरेको थियो । तर अहिले अवस्था फेरिएको छ ।
स्थानीय तह निर्वाचनको प्रारम्भिक रुझानले बुटवल उपमहानगरको नेतृत्व जोगाउन एमालेलाई निकै कठिन देखिएको छ । एमालेकै नेता कार्यकर्ताले बुटवलमा पार्टी, इतिहासकै कमजोर अवस्थामा देखिएको भन्दै निर्मम समीक्षा आवश्यक भएको बताउन थालेका छन् ।
झण्डै ६ हजार मतले पछि परे भट्टराई
२०७४ को स्थानीय चुनावमा कांग्रेस–माओवादीले गठबन्धन गर्दा पनि एमाले एक्लैले मेयर उपमेयरसहित १९ वडामध्ये १६ वटा वडा जितेको थियो । निवर्तमान मेयर शिव सुवेदी यो पटक पनि उम्मेदवारका दावेदार थिए । तर उनी ‘लोकप्रिय’ नभएको भन्दै एमालेले बाबुराम भट्टराईलाई अघि सार्यो । राष्ट्रिय जनमुक्ति पार्टीसँग गठबन्धन पनि गर्यो । तर मत गणनामा एमाले पछि परेको छ ।
अब ८, ९, १०, ११, १२ र १३ गरी ६ वटा वडाको मत गन्न बाँकी छ । नेपाली कांग्रेसका खेलराज पाण्डेयले १७ हजार ३६ मत पाउँदा एमालेका बाबुरामले ११ हजार ९१३ मात्र पाएका छन् । उपमेयर पदमा भने एमाले उम्मेदवार सावित्री देवी अर्याल अगाडि छिन् । ८ वटा वडा अध्यक्ष कांग्रेसले जितिसकेको छ भने नेकपा एमालेले तीनवटा मात्र जितेको छ । एउटामा स्वतन्त्र र एउटामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

मत गणनामा सहभागी एमाले नेताहरुका अनुसार वडामा एमाले उम्मेदवारलाई मत दिएकाहरुले समेत मेयरमा भोट नदिएको देखिएको छ । वडा सदस्यका उम्मेदवारलाई ७७५ मत आउँदा वडाध्यक्षलाई ६७८ मत र मेयरका उम्मेदवारलाई ६५६ मत आएको छ । अरु वडामा पनि यो भन्दा फरक छैन ।
एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी कल्पनै नगरेको परिणाम देखिएको बताउँछन् । ‘४ जना वडा सदस्य एमालेले जितेको छ, अध्यक्ष र मेयरलाई भोटै दिइएको छैन,’ केसीले भने, ‘वडा नंं. २ मा त्यस्तै छ, ३ मा त्यस्तै छ, धेरै वडामा यस्तै ट्रेण्ड छ ।’
दिनभर एमालेको जुलुसमा हिँडेका, एमाले नेतासँग सेल्फी खिचेकाले समेत कांग्रेसलाई भोट दिएको पाइएको भन्दै केसीले सबैलाई एमाले देख्नु पार्टीको कमजोरी भएको बताए । एमालेका उम्मेदवारमा टिकट मात्र पाए जितिन्छ भन्ने ‘ओभर कन्फिडेन्ट’ले पनि परिणाम सोचे जस्तो नआएको उनी बताउँछन् ।
एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रचार विभाग प्रमुख डी.आर. घिमिरेले पार्टी भित्रैबाट अन्तरघात भएको ठोकुवा गरे । ‘प्रत्येक भोटमा अन्तरघात भएको छ, वडा सदस्यमा भोट हालिएको छ, तर वडा अध्यक्ष र मेयरलाई भोट हालिएको छैन,’ घिमिरेले भने, ‘आफूले टिकट पाए ठीक, अरुले पाए बेठीक भन्ने आत्मकेन्द्रित प्रवृत्तिको प्रभावमा परेर भोट खसालेको देखियो ।’
घिमिरेको संकेत गोपाल रानातर्फ लक्षित हुनसक्छ । अघिल्लोपटक पनि टिकट नपाएका राना यसपटक टिकट पाउनेमा विश्वस्त देखिन्थे । चुनावी अभियानको आन्तरिक तयारी पनि गरिसकेका थिए । राष्ट्रिय जनमुक्ति पार्टीलाई तालमेल गर्न पनि उनैले भूमिका खेलेका थिए । तर अन्तिम समयमा टिकट पाएनन् ।
उम्मेदवारी दर्ताको दिन सुख्खानगरस्थित एमाले पार्टी कार्यालयमा बाबुराम भट्टराईको मनोनयन दर्ता गर्न जान एमाले नेता कार्यकर्तालाई भेला हुन भनिएको थियो । त्यहाँ गोपाल राना पक्षका कार्यकर्ताहरुले रानाले टिकट पाउनुपर्ने भन्दै केहीबेर नाराबाजी गरेका थिए । रानाको पक्षमा एमाले बुटवल नगर कमिटीका निवर्तमान अध्यक्ष बाबुराम पन्थी लगायत युवा, जनजाति, होटेल तथा रेष्टुरेन्ट र निर्माण व्यवसायीको ठूलो पंक्ति थियो ।
राना बाबुरामको चुनावी प्रचार कार्यक्रममा देखिने र खुलेर बाहिर असन्तुष्टि नजनाए पनि भित्र असन्तुष्ट रहेको उनको पक्षमा लबिङ गरेका कार्यकर्ताका अभिव्यक्तिबाट प्रष्ट भएको अर्को पक्षको ठम्याइ छ ।
राजधानी सरेको सजाय
पूर्वमेयर एवं लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ भने बुटवलमा एमालेको पक्षमा अप्रत्यासित परिणाम आउनुमा प्रदेशको स्थायी राजधानी बुटवल कायम गराउन नसक्नु मुख्य कारण मान्छन् । कांग्रेस नेतृत्वको सरकारले बुटवलमा अस्थायी राजधानी कायम गरेको, तर एमालेले स्थायी राजधानी दाङ लैजान साथ दिएको बुझाइ भएकाले चुनावमा जनताले सजाय दिएको श्रेष्ठले बताए ।

‘छलकपटको राजनीतिमा पहिला नेताहरुले कसैले बुटवल स्थायी राजधानी बनाइछाड्छौं भने, कसैले दाङ,’ श्रेष्ठ भन्छन्, ‘आफैंले बोलेको कुरा किन भएन भनेर प्रश्न उठ्यो ।’
अरु ६ वटा प्रदेशको अस्थायी राजधानी जहाँ थियो, त्यही स्थायी कायम हुँदा लुम्बिनी प्रदेश राजधानी भने दाङ सारिएको बताउँदै उनले भने, त्यो कुरा जनतालाई राम्ररी बुझाउन सकिएन, अहिले सजाय दिए ।’
चुनाव जितेपछि नेताहरु अहंकारी भएको, जनमैत्री र सबै दलको साझा नभएकाले पनि अहिले चुनावमा असर गरेको उनले औंल्याए । ‘चुनाव जितेपछि सबैको साझा र जनमैत्री हुनुपर्ने थियो, त्यो भएन । बरु अहंकर र दम्भ भयो, त्यसैले कर्मको फल पनि हो यो’, निवर्तमान मेयर शिवराज सुवेदीप्रति लक्षित गर्दै श्रेष्ठले भने ।
जनताले हरेक दशकमा परिवर्तन खोज्दा रहेछन् भन्ने अहिलेको स्थानीय चुनावले देखाएको श्रेष्ठको विश्लेषण छ । राष्ट्रिय राजनीतिमा आएको फेरबदलले पनि एमाले कमजोर बन्नु स्वाभाविक भएको श्रेष्ठले स्वीकार गरे ।
बुटवल वहुमुखी क्याम्पसका प्राध्यापक नुरजंग केसीले बुटवल उपमहानगरमा २०७४ मा निर्वाचित एमाले नेतृत्वले गरेका वाचा अधिकांश पूरा गर्न नसक्नु, अनावश्यक कर बढाउनु, विपक्षी दल र संघसंस्थालाई नसमेट्नु, सुशासन र पारदर्शिता कायम गर्न नसक्नुले एमालेको विपक्षमा जनमत प्रकट भएको तर्क गरे ।
‘जनताले जनप्रतिनिधि शासकहरु शासक होइन, सेवक जस्ता खोज्छन् । एउटा दलको मात्र हैन सबै साझा होउन् भन्ने चाहन्छन्, बुटवलमा त्यस्तो भएन,’ प्राध्यापक केसीले भने ।
एमाले नेतृत्वमा हुँदा वडाहरुलाई वार्षिक बजेटमा अति कम बजेट दिए पनि मेयर उपमेयरको सचिवालयलाई अबण्डा शीर्षकमा वडालाई भन्दा धेरै बजेट राखेकाले वडावासीहरु रुष्ट भएकाले यसपटकको चुनावमा नयाँ नेतृत्व चाहेको देखिएको वडा नंं १३ का वडा अध्यक्ष नारायण पुनको विश्लेषण छ ।
प्रतिक्रिया 4