
काठमाडौं । शुक्रबार प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’लाई एक समारोहबीच प्रिमियर गरिएको छ । बुधबार बेलुका लबिम मलस्थित क्यूएफएक्स सिनेमाज्मा फिल्म प्रदर्शन गरियो ।
प्रिमियरमा कलाकारहरु ब्यास बिस्सु, अकेशा विष्ट, बुद्धि तामाङ, शिल्पा मास्के र लोेकेन्द्र लेखक लगायत उपस्थित रहे । सूर्यएन श्रेष्ठ निर्देशित फिल्म अमेरिकापछि नेपालमा प्रदर्शन हुन लागेको हो ।
प्रिमियरमा फिल्म उद्यमी, कलाकारहरु, फुटबल खेलाडीदेखि संचारकर्मी समेत सहभागि रहे ।
सात वर्षपछि यही फिल्ममार्फत अकेशा कमब्याक हुन लागेकी हुन् । फिल्ममा उनले अमेरिकामा बसोबास गर्ने युवतीको भूमिका निर्वाह गरेकी छन् । ‘जिन्दगी रक्स’बाट फिल्म करिअर थालेकी अकेशा लामो समय अमेरिकामा बसिन् ।
फिल्मले अमेरिकामा बसोबास गर्ने नेपालसहितका तेस्रो मुलुकका नागरिकले पैसा र कानूनी पहिचानको लागि गर्ने संघर्षलाई फिल्मले चित्रण गर्छ । निर्माता समेत रहेका ब्यास बिस्सुले फिल्मले नेपाल रिलिज अघि नै ७० प्रतिशत लगानी उठाइसकेको बताए ।
शुक्रबार नै नेपाली हलहरुमा दुई भारतीय फिल्म ‘धाकड’ र ‘भुलभुलैया २’ समेत प्रदर्शन हुने तयारीमा छन् ।
तस्विरहरु : शंकर गिरी
प्रतिक्रिया 4