
५ जेठ दाङ । ०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकाको मेयरमा प्रतिस्पर्धी थिए, नेकपा एमालेका नरुलाल चौधरी र नेपाली कांग्रेसका भुपबहादुर डाँगी । भुपबहादुरलाई ५ हजार मतले हराउँदै नरुलाल मेयर निर्वाचित भए ।
३० वैशाखको स्थानीय चुनावमा पनि नरुलाल र भूपबहादुर फेरि चुनावी मैदानमा उत्रिए, तर फरक पदमा । भुपबहादुर मेयरको टिकटका आकांक्षी थिए, तर कांग्रेस नेतृत्वले चुनावी गठबन्धन गर्दै घोराहीको मेयर माओवादी केन्द्रलाई छाड्ने सहमति गर्यो । भुपबहादुर उपमेयरकै उम्मेदवार बन्न तयार भए ।
संयोग ! मुलुककै ठूलो उपमहानगर घोराहीले नयाँ जनप्रतिनिधि पाउँदै गर्दा ०७४ कै दृश्य दोहोरियो ।
एमालेका नरुलाल दोस्रो कार्यकालका लागि निर्वाचित भए भने कांग्रेसका भुपबहादुर उपमेयरमा पनि पराजित भए । अघिल्लो निर्वाचनमा मेयरमा ५ हजार मतले पराजित भएका डाँगी यसपटक उपमेयरमा ४९ मतले हार्न पुगे ।
नरुलालको भाग्य
पाँचदलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्नु परेको एमालेले यो पटक महानगर र उपमहानगरपालिकामा सुखद नजिता ल्याउन सकेको छैन । तर नरुलाल भने पाँचदलीय गठबन्धनलाई भारी मत अन्तरले हराएर दोस्रो कार्यकाल पक्का गरेका छन् ।
जबकी २०७४ को जनमतका आधारमा आधारमा हेर्दा कांग्रेस माओवादी गठबन्धनभन्दा एमाले कमजोर देखिएको थियो ।
तर अघिल्लो पटक एक्लाएक्लै प्रतिस्पर्धा गरेका कांग्रेस र माओवादी केन्द्रसँग मिलेर आउँदा पनि नरुलालले चुनाव जितेका छन्, त्यो पनि अघिल्लो पटक झैं ५ हजारभन्दा बढी मत अन्तरले ।
एमाले उम्मेदवार नरुलालले ३१ हजार ७२८ मत ल्याउँदा माओवादी केन्द्रका हेमराज शर्मा (डायमण्ड) ले २६ हजार ३६८ मत पाएका छन् ।
घोराहीमा थारु समुदायको बाहुल्य रहेकाले उनीहरुको मत निर्वाचनमा निर्णायक हुने गर्दछ । थारु समुदायको मत तान्न दलहरुले थारु नेताहरुलाई उम्मेदवारमा समेट्ने गर्छन् ।
अघिल्लो चुनावमा एमालेले यही रणनीति अपनाएर चौधरी समुदायका नेता नरुलाललाई उम्मेदवार बनाएर नतिजा आफ्नो पक्षमा पारेको थियो ।
गठबन्धनका बाबजुद नरुलालले चुनाव जितेपछि एमालेको यही रणनीति सफल भएको देखिन्छ । सुरुवाती गणनामा पछाडि परेका नरुलालले चौधरी बस्ती भएका वडाको मत गणना सुरु भएपछि भारी मत पाएर अग्रता लिएका थिए ।
भुपबहादुरको दुर्भाग्य
नरुलाल दोस्रो पटक मेयर चुनिँदा भुपबहादुर भने पद फेरेर चुनाव लड्दा पनि जित्न सकेनन् । उनी ०७४ सालको चुनावमा मेयरमा पाँच हजार मतअन्तरले पराजित भएका थिए । घोराहीमा कांग्रेसको संगठन बलियो भएपनि पार्टीभित्रकै अन्तरघातका कारण उनी हारेको कांग्रेस नेताहरु बताउथेँ ।
यस पटक कांग्रेस एकढिक्का हुने प्रयासमा थियो । भूपबहादुर स्वयंले यसपटक अन्तर्घात नहुनेमा विश्वस्त थिए । माओवादी केन्द्रसहित अन्य दलसँग चुनावी तालमेल भएकाले पनि उनले मेयरको टिकटका लागि दौडधुप गरेका गिए ।
तर सत्ता गठबन्धनमा ६ महानगर र ११ उपमहानगरको भागवण्डा केन्द्रले गर्दा घोराही माओवादी केन्द्रको भागमा पर्यो । भुपबहादुर उपमेयरमै लड्न तयार भए । मेयर बन्न नसके पनि गठबन्धनको बलमा घोराहीको उपमेयर हुने उनको आश थियो ।
दुर्भाग्य ! यस पटक पनि भुपबहादुरको भागमा पराजय नै पर्यो । एमालेकी हुमा डिसी ३० हजार ४०३ मतका साथ घोराहीको उपमेयरमा निर्वाचित हुँदा भुपबहादुरले ३० हजार ३५४ मत मात्र ल्याए ।
गठबन्धनका बाबजुद भुपबहादुर हार्नुलाई कांग्रेस नेताहरुले पुनः अन्तर्घात भनेका छन् । जित पक्का जस्तै भएको बेला पनि हारेको भन्दै एक नेता भन्छन्, ‘राजनीतिमा हार जित स्वभाविक हो । तर पटक पटकको हारले अर्थ राख्छ ।’
प्रतिक्रिया 4