
६ जेठ, विराटनगर । विराटनगर महानगरपालिका मेयरका उम्मेदवार नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की जितनजिक पुगेका छन् । दुवै उम्मेदवारले निकटतम प्रतिस्पर्धीसँगको मत अन्तर फराकिलाे बनाएका छन्
पछिल्लो मत परिणाम अनुसार कोइरालाले २५ हजार ३१२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सागर कुमार थापाले १८ हजार ८३५ मत पाएका छन् । सागर भन्दा नागेश ६ हजार ४७७ मतले अगाडि छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले सात हजार ६६५ मत पाएका छन् । राप्रपा उम्मेदवार प्रह्लाद साहले चार हजार ७२९ मत पाएका छन् ।
यो पटक विराटनगर महानगरपालिकामा एक लाख ३३ हजार १४२ मतदाता छन् । जसमध्ये ८९ हजार ७८९ मत खसेको थियो । खसेकोमध्ये ७६ हजार मत गणना भइसकेकाे छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार भीम पराजुलीले २३ हजार ३१ मत पाएर निर्वाचित भएका थिए । दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार विनोद ढकालले १७ हजार ३११ मत पाएका थिए । यो पटक दुवै उम्मेदवारले अघिल्लो निर्वाचनमा आफ्नो दलका उम्मेदवारले पाएको मत कटाएका छन् ।
उपप्रमुखमा एमाले उम्मेदवार शिल्पा कार्कीले २२ हजार १४, जसपा उम्मेदवार अमरेन्द्र यादवले १२ हजार ३६६, राप्रपा उम्मेदवार विन्दा कुमारी लुइटेल आचार्यले पाँच हजार ७६५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले चार हजार ५५० मत पाएका छन् । उपमेयरमा अमरेन्द्र भन्दा शिल्पा नाै हजार ६४८ मतले अगाडि छिन् ।
प्रतिक्रिया 4