
६ जेठ, सर्लाही । सर्लाहीको कविलासी नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेस उम्मेदवारहरु मेयरमा ब्रम्हदेव राय र उपमेयरमा पुनम कर्ण निर्वाचित भएका हुन् ।
तत्कालिन राजपाबाट मेयरमा निर्वाचित भई यस पटकको चुनावमा नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादव तथा जसपाका उम्मेदवार बनेकी निवर्तमान उपमेयर राधा देवी भने यसपटक पराजित भए ।
कांग्रेसका उम्मेदवार राय ६ हजार ४ सय ४४ मतसहित मेयरमा निर्वाचित हुँदा दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेश राय एक हजार ७८१ मतान्तरले पराजित भए ।
जसपाका उम्मेदवार रायले चार हजार ६६३ मत ल्याए । पार्टी परिवर्तन गरेर नेकपा एमालेबाट उम्मेदवार बनेका निवर्तमान मेयर कौशलकिशोर यादवले भने तीन हजार ५१८ मत मात्र प्राप्त गरे ।
यस्तै, उपमेयरमा कांग्रेसकै पुनम कर्ण ६ हजार ९०७ मत ल्याई विजयी निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी जसपाकी उम्मेदवार तथा निवर्तमान उपमेयर राधा देवीले चार हजार ९१६ मत प्राप्त गरिन् ।
१० वडा रहेको कविलासीमा ६ वटा वडामा कांग्रेस, २ वडामा जसपा तथा एक/एक वडामा एकीकृत समाजवादी र एमालेका उम्मेदवार निर्वाचित भए ।
प्रतिक्रिया 4