
६ जेठ, सप्तरी । पुनः मतगणनाको माग गर्दै सप्तरीको बोदे बर्साइन नगरपालिकामा दिएको निवेदन निर्वाचन अधिकृतको कार्यालयले दरपीठ गर्ने निर्णय गरेको छ ।
वडा नम्बर-३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव एक मतान्तरले निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको थियो । तर निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका भुवनेश्वर यादवले धाँधली गरेको आरोप लगाउँदै पुनः सुरुदेखि मतगणना गर्नुपर्ने माग राखी बुधबार निवेदन दिएका थिए ।
निवेदन उपर सुनुवाई गर्दै निर्वाचन आयोग र निर्वाचन अधिकृतको कार्यालयले रीतपूर्वक मतगणना भई अन्तिम मत परिणाम प्रकाशन भइसकेको हुँदा निवेदनको सान्दर्भिकता नदेखिएकाले दरपीठ गर्ने निर्णय गरेको निर्वाचन अधिकृत तोमनाथ उप्रेतीले जानकारी दिए ।
मंगलबार सम्पन्न मतगणनामा ६ सय मत ल्याएर शिवनारायणले ६ सय मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका यादवले ५९९ मत प्राप्त गरेका थिए ।
वडा नम्बर ३ को दुईवटा मतदान केन्द्रको मतगणना पुनः गर्न माग गर्दै माओवादी केन्द्रका कार्यकर्ताहरुले मतगणना स्थलबाहिर बुधबार टायर बालेर प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।
प्रतिक्रिया 4