
६ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले हार स्वीकार गरेका छन् ।
करिब चार हजार मत गन्न बाँकी रहेको अवस्थामा उम्मेदवार पौडेलले नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामालाई विजयको शुभकामना दिएका छन् ।
उपमहानगरपालिकाको मतगणना भइरहेको स्थान सिद्धार्थ माविमा पुगेर एमालेका मेयर उम्मेदवार पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले लामालाई खादा लगाइदिँदै शुभकामना दिए ।
७३ हजार ४१४ मत खसेकामा ६९ हजार ६९६ मत गणना हुँदैमा एमाले उम्मेदवारले लामालाई बधाई दिएका हुन् ।
पौडेलले लामालाई जनताको मतको कदर गर्दै काम गर्न सुझाव समेत दिएका छन् । अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्वर वडाको मतगणना जारी छ ।
लामाले एमाले उम्मेदवार पौडेलसँगको मतान्तर दुई हजार ७७ पुर्याएकी छन् । तीन हजार ७ सय १८ मत गणना हुने क्रममा रहको छ ।
लामालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको पनि समर्थन छ ।
प्रतिक्रिया 4