
६ जेठ, काठमाडौं । विलासी वस्तु आयातमा सरकारले गरेको कडाइका कारण वैशाख महिनामा नेपालको आयातको वृद्धिदरमा ‘ब्रेक’ लागेको छ । भन्सार विभागको तथ्यांक अनुसार चैत २०७८ को तुलनामा वैशाख २०७९ को एक महिनामा २० अर्ब रुपैयाँ कमको मात्र वस्तु आयात भएको छ ।
भन्सारको तथ्यांक अनुसार ०७८ चैतमा १५७ अर्ब बराबरको वस्तु आयात भएकोमा वैशाखमा घटेर १३७ अर्बमा सीमित भएको छ ।
विभागको तथ्यांक अनुसार सरकारले आयातमा कडाइ गरेपछि मोटरसाइकलको आयात घटेको छ । एमएस बिलेट, गहुँ, चिनी, डीएपी मल, सिमेन्ट क्लिङ्कर, स्वास्थ्य उपकरण, हातहतियार र धानको आयातसमेत केही घटेको छ ।
यसबीचमा डिजेल, पेट्रोल, एलपी ग्याँस, कच्चा पाम तेल, खोप, शुद्ध फलाम, सुन, भट्टमासको तेलको भने आयात बढेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ को १० महिना (०७८ साउनदेखि ०७९ वैशाख) सम्म कुल वस्तु आयात १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २७.९५ प्रतिशत धेरै हो ।
गत आर्थिक वर्ष २०७७/७८ मा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
चालु आर्थिक वर्षको १० महिनामा नेपालबाट एक खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत वर्षको यसै अवधिमा भने १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भइको थियो । नेपालबाट हुने निर्यात ५९.८ प्रतिशत रहे पनि अत्यधिक आयात हुने भएका कारण ब्यापार घाटा सन्तुलनका लागि यसले ठूलो भूमिका खेल्न सकेको छैन ।
राजस्व बढ्यो
कुल वैदेशिक व्यापारमा भएको वृद्धिले चालु आर्थिक वर्षको १० औं महिनासम्म भन्सार राजस्व संकलन केही बढेको छ । यस अवधिमा कुल ४ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा भन्सार राजस्व ३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ संकलन भएको थियो ।
यी हुन् धेरै आयात भएका १० वस्तु
१. डिजेल : १ खर्ब २३ अर्ब ७० करोड रुपैयाँ
२. पेट्रोल : ५४ अर्ब ८३ करोड रुपैयाँ
३. एलपी ग्याँस : ५२ अर्ब १ करोड रुपैयाँ
४. भटमासको कच्चा तेल : ४९ अर्ब ४१ करोड रुपैयाँ
५. एमएस बिलेट : ४३ अर्ब ५८ करोड रुपैयाँ
६. मोबाइल टेलिफोन : ३६ अर्ब ९४ करोड रुपैयाँ
७. सुन : ३५ अर्ब ७७ करोड रुपैयाँ
८. कच्चा पाम तेल : ३४ अर्ब ७४ करोड
९. एचआर सीट : ३२ अर्ब ३८ करोड
१०. भ्याक्सिन : ३२ अर्ब ६ करोड
धेरै निर्यात हुने १० वस्तु
१. भटमासको प्रशोधित तेल : ४५ अर्ब ३५ करोड रुपैयाँ
२. प्रशोधित पाम तेल : ३७ अर्ब ९४ करोड रुपैयाँ
३. सेन्थेटिक यार्न : १० अर्ब १४ करोड रुपैयाँ
४. उनी गलैंचा कार्पेट : ७ अर्ब ७१ करोड रुपैयाँ
५. तयारी कपडा : ५ अर्ब ७६ करोड रुपैयाँ
६. जुटका बुनिएका कपडा : ५ अर्ब २१ करोड रुपैयाँ
७. फलफूलको जुस : ४ अर्ब ६३ करोड रुपैयाँ
८. सूर्यमुखीको प्रशोधित तेल : ४ अर्ब २९ करोड रुपैयाँ
९. अलैंची : ४ अर्ब २२ करोड रुपैयाँ
१०. जमोठ कपडा : ३ अर्ब ९६ करोड रुपैयाँ
प्रतिक्रिया 4