
काठमाडौं । जेभियर इन्टरनेसनल फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुवात गरेको छ ।
गोदावरी अल्मुनाई एसोसिएसन (जीएए)द्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा जेभियरले नयाँ बजार, कीर्तिपुरलाई ३१-२४ ले पराजित गर्यो । जेभियरका लागि भावना केसीले १४ अंक जोडिन् ।
दोस्रो क्वाटरको समाप्तिसम्म जेभियर १२-६ ले पछि थियो । पहिलो क्वाटरमा २-१ को झिनो अग्रता लिएको जेभियर दोस्रोमा ४-११ ले पछि रह्यो । त्यसपछिका लगातार दुई क्वाटर क्रमशः १६-७ र ९-५ ले आफ्नो पक्षमा पार्दै जेभियरले जित पक्का गर्यो ।
प्रतियोगिताको जीएएका अध्यक्ष प्रकाशबाबु केसीले उद्घाटन गरे । चार टिम सहभागी प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइने छ । शीर्ष दुई टोलीले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
साउनागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भइरहेको प्रतियोगिताको फाइनल बिहीबार हुनेछ ।
इक्याबलाई सफलता
इक्याब मेरिलियोन जिम्नाजियमले जीएए तेस्रो रोयल यु-२३ पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । इक्याबले शंकरदेव क्याम्पसलाई ५२-४५ ले हरायो । इक्याबको जितमा परिचितले ११ अंक योगदान गरे ।
साउनागाउँस्थित आयोजक रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको अन्य खेलमा विशाल मिलन केन्द्र (बीएमके), टाइम्स र अन्माइस विजयी भए ।
सोनाम तेन्जिङको १७ अंक सहयोगमा बीएमकेले टिम सिंहलाई ६७–४६ ले हरायो । टाइम्सले धरानलाई ७२-५६ ले पन्छायो । टाइम्सका मनिष केसीले २२ स्कोर गरे । अन्माइसले जेभियरलाई ५५-३६ ले हरायो । अन्माइसका प्रल्हाद बस्नेतले २१ अंक जोडे ।
प्रतिक्रिया 4