
६ जेठ, इटहरी । सुनसरीको धरान उपमहानगरपालिकामा ४० हजार ७९७ मतगणना गर्दा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ अगाडि छन् ।
मेयरको प्रतिस्पर्धामा रहेकी मञ्जु भण्डारी सुवेदीको दल नेकपा एमालेका नेताहरुले अनौपचारिक रुपमा हार स्वीकार गरिसकेका छन् भने किशोर राईसम्बद्ध नेपाली कांग्रेसका नेताहरुले आश मारेका छैनन् । तर मतगणनाका क्रममा जस्तो ट्रेण्ड देखिएको छ, त्यसले हर्क धरानको मेयर बन्ने सम्भावना बढी देखाएको छ ।
९९ हजार २८१ मतदाता रहेको धरानमा ३० वैशाखमा भएको मतदानमा ६२ हजार ८९८ मत खसेको थियो । हालसम्म १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १४, १८ र १९ नम्बर वडाको मतपरिणाम घोषणा भइसकेको छ भने विवाद भएका कारण गणना भइसकेको २० वडाको नतिजा घोषणा गर्न बाँकी छ ।
अहिले ११, १३ र १५ वडाको मतगणना भइरहेको छ भने १६ र १७ नम्बर वडाको मतगणना हुन बाँकी छ । यो समाचार तयार पार्दासम्म हर्कले १२ हजार ५३४ मत पाएका छन् । कांग्रेसका किशोरले ११ हजार ८१ मतसहित उनलाई पछ्याइरहेका छन् । कम्युनिष्टको गढ मानिएको धरानमा एमालेकी उम्मेदवार मञ्जु भने नौ हजार १० मतका साथ तेस्रो स्थानमा पुगेकी छिन् ।
एमालेबाट २०४८ सालमा ध्यानबहादुर राई र २०५४ सालमा मनोज मेन्याङ्बो मेयर बनेका थिए । २०७४ मा एमालेकै तारा सुब्बा मेयरमा निर्वाचित भए । सुब्बाको निधन भएपछि १४ मंसिर २०७६ मा भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई २६ हजार ७०९ मतका साथ मेयरमा निर्वाचित भए ।
उपचुनावमा साम्पाङ पनि उम्मेदवार थिए । खानेपानीको बोतल चुनाव चिह्न पाएका उनले जम्मा ४४२ मत मात्र पाएका थिए । साढे २ वर्षअघि ४२० भोट ल्याएका हर्क यो पटक कसरी कांग्रेस र एमालेलाई चक्मा दिन सफल भए ?
‘हर्क साम्पाङ कम्तीमा एक दशकदेखि सामाजिक अभियानमा जनतासँग मिलेर काम गर्नुभएको मानिस हो’ महेन्द्र क्याम्पसका प्राध्यापक राजेन्द्र शर्मा भन्छन्, ‘पछिल्लो समय परिपक्व पनि भए । सामाजिक सञ्जालले उछाल दिएपछि लोकप्रिय भए ।’
फुत्त निस्केका होइनन् साम्पाङ
धरानका अगुवाहरुका अनुसार ३९ वर्षका हर्क साम्पाङ एकदशकदेखि धरानका सडकमा भेटिइरहने सामाजिक अभियन्ता हुन् । ४/५ वर्ष मलेसियामा श्रम गरेर फर्किएपछि उनले कृषि पेशा र टेम्पो चलाउने व्यवसाय गरेका थिए ।
सँगसँगै सामाजिक आन्दोलनमा जोडिए, त्यसको सुरुवात सर्दु जलाधार क्षेत्र संरक्षण अभियानबाट सुरु भयो ।
सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका मानिसहरुले पनि भू–माफियासँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो । हर्क साम्पाङ पनि त्यसमा जोडिए ।
यो विवादमा सर्वोच्च अदालतले मुआब्जा दिइरहेका जमिनहरु सर्दु जलाधर क्षेत्रकै हुने फैसला गर्यो । ‘धरानले चिन्ने गरी हर्क साम्पाङको सामाजिक अभियानको प्रारम्भ त्यहींबाट हुन्छ’, प्राध्यापक शर्मा भन्छन् ।
कृष्णनारायण पालिखे र हर्क साम्पाङहरुको ‘जनसरोकार मञ्च’ले सुन्दर बस्ती विकासको मुद्दामा पनि आन्दोलन गरे । धरान नगरपालिकाले २०५३ सालमा धरान ८ मा सुन्दर बस्ती विकास गर्न भनेर ल्याण्ड पुलिङ सुरु गरेको थियो ।
ल्याण्ड पुलिङमा ज–जसले जग्गा दिएका थिए, उनीहरुको १५ देखि ६० प्रतिशत जग्गा बसपार्क बनाउन काटिने थियो । तर योजनाअनुसार काम नभएपछि स्थानीय आन्दोलित भए । हर्क साम्पाङ पनि जनसरोकार मञ्चसँगै सामेल भए ।
धरानले हर्कलाई अझ बढी चिनेको चाहिं खानेपानीको मुद्दामा गरेको आन्दोलनमा हो । पानीको समस्या समाधान गर्न एसियाली विकास बैंक (एडीबी) को २ खर्ब १६ करोड अनुदानमा खानेपानीको एकीकृत विकास आयोजना सुरु भयो । धरान बजार नजिकै चारकोसे जंगलबाट भूमिगत इनार खनेर प्रतिदिन १ करोड ५२ लाख लिटर पानी ल्याउने आयोजनाको लक्ष्य थियो ।
जंगलमा कुवा खन्ने र पम्प गरेर पानी ल्याउने योजनामा प्रश्न उठाउँदै स्थानीयले विरोध गरे । पम्पको आयु छोटो हुने, बिजुली पनि खर्च हुने र मागअनुसार पानी आपूर्ति नहुने भन्दै स्थानीयले कोशी वा तमोरबाट पानी ल्याउनुपर्ने बताएका थिए ।
स्थानीयले गरेको विरोधको अग्रभागमा हर्क साम्पाङ पनि थिए । ‘हर्कजी खानेपानी आयोजना असफल आयोजना हो भन्ने मत राख्नुहुन्थ्यो’ प्राध्यापक शर्मा भन्छन्, ‘स्थानीयको विरोधका बीच खानेपानी आयोजना सम्पन्न भयो भनियो । तर अहिले हविगत कस्तो छ भने धरानमा दिन बिराएर पानी आउँछ, त्यो पनि एक डेढ घण्टा । पानीको हाहाकार छ ।’
एकपछि अर्को सामाजिक अभियान चलाएका हर्क साम्पाङ धरानमा चुनाव लड्ने निर्णयमा पुगे । तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि भएको उपचुनावमा उनले मेयरको उम्मेदवारी दिए । तर जम्मा ४२२ मत मत्र पाए । ‘समाज र उहाँको वेभ नमिल्दा अघिल्लो पटक एकदमै कम मत ल्याउनुभयो’, शर्मा भन्छन् ।
खासगरी उनको ‘उद्दण्ड’ कार्यशैलीप्रति जनतामा असन्तुष्टि थियो । उनी सर्दुमा गिट्टी उठाउँदैछ भन्ने थाहा पाएपछि आफैं गएर पक्राउ गरे । खानीपानीको मुहानमा पानी छैन भनेर आयोजनाले रिपोर्ट दिनासाथ आफैं मुहानमा पुग्थे । उनको यो शैलीलाई धेरैले उद्दण्ड मान्थे, जसका कारण उपचुनावमा मत जित्न सकेनन् ।
कोभिड महामारी र सामाजिक सञ्जालको उछाल
धरानका अगुवाहरुका अनुसार कोरोना महामारी कालमा भने हर्क साम्पाङले धरानवासीको मन जिते । उनले लामो समयदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका थिए ।
कोभिड महामारीका बेला १०० शय्याको अस्पताल बनेपछि सेवा गुणस्तरीय नभएको र कुरुवाका लागि बस्ने ठाउँ समेत नभएको भन्दै आन्दोलन गरे । रात दिन बिरामी र कुरुवालाई सहयोग गरे । प्राध्यापक शर्मा भन्छन्, ‘यो कालमा धरानवासीले हर्क साम्पाङलाई नजिकबाट चिन्ने अवसर बन्यो ।’
अघिल्लो चुनावी हारसँगै फेरि मेयरमा उठ्ने घोषणा गरेका कारण साम्पाङसँग सामाजिक सञ्जालमा सक्रिय ‘सोसल इन्फ्युयन्सर’हरु पनि जोडिन पुगे । एक वर्षदेखि साम्पाङसँग जोडिएका ‘हाम्रो धरान राम्रो धरान, भ्रष्टाचारविरुद्ध हाम्रो अभियान’का अशोक शर्मा भन्छन्, ‘धराने जनताको मुद्दालाई दलहरुले सम्बोधन नै गर्न नसकेपछि हामीले विकल्पमा उहाँलाई साथ दिएका हौं ।’
चुनाव आएपछि सामाजिक सञ्जाल फेसबुकमा धरानको मेयर को ? भन्ने बहस हुन थाल्यो, धेरैले हर्क साम्पाङको नाम लिए । युवा युस्तामाझ त उनी लोकप्रिय नै थिए । यो पटक पटक–पटक दलहरुलाई जिताएकाहरु क्रमशः उनीतिर ढल्किन थाले ।
वडा तहको गणनामा आएको मतले पनि त्यही भन्छ । वडाध्यक्ष तथा सदस्यमा दलका उम्मेदवारलाई मत दिएकाहरुले मेयरमा भने हर्कलाई मत दिएका छन् । प्राध्यापक शर्मा भन्छन्, ‘धराने जनताले पुराना गन्हाएका मान्छेहरुभन्दा एक्सन ओरियन्टेड मान्छेलाई भोट हाल्दा केही हुन्छ भनेर हर्कजीलाई भोट दिएको देखिन्छ । जसरी काठमाडौं महानगरवासीले बालेन साहलाई हालेका छन् ।’
हर्क साम्पाङ मेयर बन्छन् कि बन्दैनन् यकिन हुन अझै केही घण्टा कुनुपर्छ । अहिले वडा नम्बर १५ को गणना चलिरहेको छ । यो सबभन्दा धेरै करिव ७ हजार मतदाता भएको वडा हो । तर त्यहाँ पनि उनले राम्रै मत ल्याउने देखिन्छ । करिव ३०० मत गन्दा उनले १३० मत पाएका छन् ।
वडा नम्बर १६ मिश्रित बसोबास भएको वडा हो । एमालेका एक नेता भन्छन्, ‘सुरुमा हामीले उनलाई आदिवासी जनजाति एरियामा मात्र भोट आउँछ भन्ने थियो । तर सबको मत हर्क साम्पाङलाई गएको देखियो । हार जित के हुन्छ, हेर्न बाँकी छ ।’
मेयरका उम्मेदवार साम्पाङ पनि दलहरुले आधारभूत आवश्यकता समेत पूर्ति नगरेका कारण जनताले यो पटक दल नहेर्ने भनेर आफूलाई मत दिएको बताउँछन् । ‘दलहरुले जनताको आधारभूत आवश्यकता पूर्ति गर्न सक्नु भएन’ उनले टेलिफोनमा अनलाइनखबरसँग भने, ‘जनता पनि पार्टी नहेर्ने भन्नेमा गए ।’
मेयर उम्मेदवार र वडाध्यक्षहरुले पाएको मत :
मेयरमा पाएको मत : | वडाध्यक्षहरुले पाएको मत | |||||||
वडा | सूर्य | रुख | लौरो | सूर्य | रुख | हँसिया हथौडा | अन्य | Remark |
1 | 252 | 714 | 529 | 177 | 757 | 703 | गणना पूरा | |
2 | 375 | 548 | 379 | 784 | 627 | गणना पूरा | ||
3 | 407 | 720 | 514 | 625 | 1080 | गणना पूरा | ||
4 | 625 | 596 | 235 | 826 | 612 | गणना पूरा | ||
5 | 1083 | 1486 | 1035 | 1615 | 1454 | 1039 | गणना पूरा | |
6 | 1212 | 546 | 879 | 1328 | 267 | 1820 | गणना पूरा | |
7 | 356 | 426 | 463 | 679 | 572 | गणना पूरा | ||
8 | 991 | 944 | 1822 | 1725 | 908 | 333 | गणना पूरा | |
9 | 291 | 546 | 559 | 546 | 897 | गणना पूरा | ||
10 | 417 | 372 | 747 | 924 | 567 | गणना पूरा | ||
11 | 448 | 800 | 1604 | 893 | 941 | 552 | 189 | गणना जारी |
12 | 400 | 611 | 461 | 815 | 651 | गणना पूरा | ||
13 | 465 | 456 | 655 | 850 | 623 | 215 | गणना जारी | |
14 | 496 | 380 | 475 | 567 | 255 | 790 | गणना जारी | |
15 | गणना सुरु नभएको | |||||||
16 | गणना सुरु नभएको | |||||||
17 | गणना सुरु नभएको | |||||||
18 | 98 | 427 | 640 | 306 | 784 | गणना पूरा | ||
19 | 426 | 584 | 877 | 928 | 854 | गणना पूरा | ||
20 | 397 | 562 | 141 | 411 | 383 | 389 | 38 | गणना जारी |
प्रतिक्रिया 4