
७ जेठ, सप्तरी । सत्तारुढ गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको निर्वाचन क्षेत्र समेत रहेको सप्तरी जिल्लामा यो पार्टीलाई ठूलो क्षति भएको छ ।
२०७४ सालको निर्वाचनमा आफैं ५ पालिका जितेको जसपा यसपटक ३ सिट मात्रै जितेको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपालले जिल्लाको खडक, बोदे बर्साइन नगरपालिका तथा महादेवा, तिरहुत र बलान बिहुल गाउँपालिका जितेको थियो ।
संघीय समाजवादी फोरम र तत्कालिन राजपा मिलेर जसपा बन्दा पूर्व राजपाबाट जितेका ५ मध्ये ४ पालिका प्रमुख जसपामै रहेका थिए । यस्तै, डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति जसपामा मिल्दा सो पार्टीले जितेको एक पालिका पनि जसपाकै भागमा परेको थियो ।
तत्कालिन राजपाले जितेको हनुमाननगर कंकालिनी, डाक्नेश्वरी राजविराज नगरपालिका र रुपनी गाउँपलिकाका प्रमुख जसपामै रहे । नयाँ शक्तिले जितेको छिन्नमस्ता गाउँपालिका प्रमुख पनि जसपामै आए । यसरी हेर्दा १० पालिका जसपाको थियो । तर, यस पटकको चुनावमा जसपाले मात्र तीन पालिका जितेको छ ।
यस पटक जसपाले राजविराज, बोदे बर्साइन नगरपालिका र विष्णुपुर गाउँपलिका जितेको छ । राजविराज र बोदे बर्साइनमा प्रमुख र उपप्रमुख दुबै जितेपनि बिष्णुपुरमा प्रमुख पद मात्रै जितेको छ । यहाँको उप प्रमुखमा कांग्रेस विजयी भएको छ ।
उपेन्द्रकै निर्वाचन क्षेत्रमा पराजित
पार्टीका अध्यक्ष उपेन्द्र यादवले जितेको क्षेत्र हो सप्तरी क्षेत्र नम्बर २ । सदरमुकाम राजविराजसहित महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्ता गाउँपालिका गरी ४ वटा पालिका यो क्षेत्रमा पर्दछ ।
तर, राजविराजबाहेक कुनै पनि पालिकामा जसपा विजयी हुन सकेन । राजविराजमा जसपाका भीमराज यादव प्रमुखमा निर्वाचित भएका छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस, महादेवाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) विजयी भएको छ । छिन्नमस्तामा पनि अत्यधिक मतका साथ लोसपाका उम्मेदवारले अग्रता लिएका छन् । यहाँ दोस्रो नम्बरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार छन् ।
जसपाका अर्काे सांसदको क्षेत्रमा शून्य
जसपाले जितेको अर्काे निर्वाचन क्षेत्र हो क्षेत्र नम्बर १ । यो क्षेत्रमा चार वटा पालिका छ । तर कुनैमा पनि जसपाले खाता खोल्न सकेन् ।
यो क्षेत्र अन्तर्गतको सप्तकोशी र कंचनरुप नगरपालिका तथा तिरहुत गाउँपालिकामा नेपाली कांग्रेस प्रमुख र उप प्रमुखसहित जित्दा अग्निसाइर कृष्णासावरण गाउँपालिकामा अध्यक्ष नेकपा एमाले र उपाध्यक्ष कांग्रेसले जितेको छ ।
कंचनरुप र तिरहुतमा जसपा दोस्रो स्थानमा रहेको छ । यो क्षेत्रबाट जसपाका सांसद डा. सूर्यनारायण यादव प्रतिनिधिसभामा जितेका छन् ।
जसपाका जिल्ला अध्यक्ष केदार यादव जितको हिसाबले पार्टी कमजोर देखिएपनि मत र प्रतिस्पर्धाको हिसाबले अगाडि नै रहेको बताउँछन् ।
विभिन्न टेक्निकल समस्या, पालिकामा बनेको विभिन्न समीकरण र पार्टीभित्रको असन्तुष्टिका कारण पनि पार्टीले अपेक्षाकृत जित निकाल्न नसकेको उनी बताउँछन् ।
टिकट वितरण पनि सही तरिकाले नहुँदा यस्तो अवस्था आएको उनको भनाइ छ । ‘जसलाई दिनुपथ्र्यो त्यसलाई नदिँदा पनि यस्तो स्थिति आएको हो’ उनी भन्छन्, ‘जिल्लाबाट वितरण गर्न नदिई माथिबाटै दिइएकाले पनि यस्तो समस्या आएको छ ।’
प्रतिक्रिया 4