
८ जेठ, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले सचिवालय सदृढ बनाउने र अधुरा योजनाहरु समयसीमा भित्र सम्पन्न गर्ने कामलाई पहिलो प्राथमिकता दिने बताएका छन् ।
मेयर पदमा विजयी भएपछि आज बिहान पत्रकारहरुलाई प्रतिक्रिया दिंदै उनले सो कुरा बताएका हुन् ।
‘आर्थिक वर्षको अन्त पनि आइसकेको छ, त्यसैले जति पनि पेन्डिङ योजनाहरु छन् तिनलाई समयसीमा भित्र गुणस्तर कायम गरेर सम्पन्न गर्नेमै ध्यान दिन्छौं,’ हमालले भने ।
उनले सचिवालयलाई चुस्त, दुरुस्त, पारदर्शी र जनमुखी बनाउने कामलाई पनि पहिलो प्राथमिकता दिने बताए । ‘पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण हुन्छ । किनभने जबसम्म सचिवालय सुदृढीकरण हुँदैन, तबसम्म कुनै पनि योजनाहरु सही तरिकाले कार्यान्वयन हुँदैनन्’ उनले भने । अहिलेको सचिवालयलाई कसरी सुदृढ बनाउन सकिन्छ भनेर कार्यालय प्रमुख, विभिन्न शाखा प्रमुखहरुसँग छलफल गर्ने उनले जानकारी दिए ।
उनले इमान्दारीपूर्वक सबैको साझा उपमहानगरपालिकाको रुपमा धनगढीलाई विकास गर्ने बताए ।
हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गरेका हुन् । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित भएका थिए ।
उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी भएकी छन् ।
प्रतिक्रिया 4