
८ जेठ, काठमाडौं । फिल्म र सेलिब्रिटी मात्र होइन, विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभल नारा र मुद्दाले पनि उत्तिकै चर्चामा रहने गर्छ । शनिबार कान्स रेडकार्पेटमा टपलेस युवतीले गरेको हर्कतले विश्वको ध्यान तानेको छ ।
आफ्नो नग्न शरीरलाई युक्रेनको झण्डाको रङले पोतेकी उनले रेडकार्पेटमा पुगेर चिच्याउन थालिन् । उनको टपलेस शरीरमा ‘हामीलाई बलात्कार गर्न बन्द गर’ लेखिएको थियो ।
खासमा युक्रेनमा रुसी सैनिकले गरेको भनिएको यौन हिंसाको विरोधमा उनले विरोधको यस्तो शैली पछ्याएकी हुन् । हलिउड अभिनेत्री टिल्डा स्विटन र अभिनेता एड्रिस अल्बाले रेडकार्पेट नापिरहेको बेला ती महिला अचानक पुगेकी थिइन् ।
ती महिला रेडकार्पेटमा पुगेपछि सेलिब्रिटीलाई जान रोकियो र सुरक्षाकर्मीले कालो रङको ज्याकेटले छोपेर त्यहाँबाट निकालेका थिए । अघिल्लो महिना युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युक्रेनमा रुसी सैनिकबाट बलात्कारका घटना भइरहेको जनाएका थिए ।
प्रतिक्रिया 4