
८ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको आपूर्ति गर्न निजी क्षेत्रलाई दिने गरी गृहकार्य भइरहेको बताएका छन् ।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको विश्वव्यापी रुपमा वृद्धि भइरहेको इन्धन र खाद्यान्नको मूल्य र यसले अर्थतन्त्रमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
आयल निगमलाई सुधार्न र निगमको एकाधिकार तोड्न पनि दिर्घकालीन रुपमा निजी क्षेत्रको सहभागिताबारे मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो ।
‘निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न दिनेबारे अध्ययन भइरहेको छ । निगमको एकाधिकार धेरै भयो भन्ने छ,’ बडूले थपे ‘प्रतिस्पर्धा बढाउन, दीर्घकालीन समाधानका लागि हामीले अहिले त्यसतर्फ काम गर्ने सुरुवात गरेका छौं ।’
इन्धनको आपूर्तिमा निजी क्षेत्रलाई सहभागी गराउँदा निगमलाई सुधार्न पनि यो गर्न छलफल आवश्यक भएको मन्त्री बडुले बताए ।
प्रतिक्रिया 4