
८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयर पदको मतगणनामा जनता समाजवादी पार्टीका उम्मेदवार राजेशमान सिंहले निरन्तर अग्रता कायम राखेका छन् ।
मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान र नेकपा एमालेका उम्मेदवार विजय सराबगीबीच फराकिलो मतान्तर कायमै छ ।
उनीहरुबीच झण्डै दोब्बर मतको फरक छ । राजेशमानले ३३ हजार ९१९ मत पाएका छन् भने निकटतम प्रतिस्पर्धी सरावगीले १७ हजार ८०८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर १६ हजार १११ को छ ।
सराबगी निवर्तमान मेयर हुन् । ०७४ सालको निर्वाचनमा उनी तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा १९ हजार ३९३ मत ल्याएर विजयी भएका थिए । भने राष्ट्रिय जनता पार्टी नेपालबाट मेयरमा उठेका राजेशमान १२ हजार १६५ मत ल्याएर तेस्रो स्थानमा थिए ।
राप्रपाका गिरीश गिरीले दुई हजार ३३५ मत पाएका छन् । हालसम्म मेयर पदमा १४ हजार ९५९ मत बदर छ । वीरगञ्जको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १६, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को ६५ हजार ५५३ मत गणना सकिएको छ ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका इम्तियाज आलमले सुरु देखि नै अग्रता लिएका छन् । उनले निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका पुरुषोत्तम लाल झाको भन्दा ४ गुणा बढी मत ल्याएका छन् । इम्तियाजले २३ हजार १६४ मत पाउँदा झाले हालसम्म पाँच हजार ८६८ मत मात्रै पाएका छन् । उनीहरुबीच १७ हजार २९२ को मतान्तर देखिएको छ । उपप्रमुख पदमा ३२ हजार ३९६ मत बदर भएको छ ।
प्रतिक्रिया 4