
८ जेठ, काठमाडौं । यस वर्षको स्थानीय तह निर्वाचनको परिणामले नेकपा माओवादी केन्द्र आफ्नै प्रभाव क्षेत्रमा कमजोर बनेको देखाएको छ । तर, नयाँ ठाउँमा पनि उसैगरी विस्तार भएको देखिन्छ ।
२०७४ मा भएको स्थानीय तह चुनावमा माओवादी केन्द्रले एक महानगरपालिका, ३४ नगरपालिका, ७२ गाउँपालिका अध्यक्ष गरी १०६ पालिका प्रमुख र १११ पालिका उपप्रमुख जितेको थियो ।
यसपटक पनि अहिलेसम्मको मतगणनामा माओवादी केन्द्र १२० पालिकाको प्रमुख र १२८ पालिकाको उपप्रमुख जितेर तेस्रो स्थानमा कायम छ । मतगणना भइरहेको चितवनको भरतपुर महानगरपालिका र बाराको फतुवा विजयपुर नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
पालिका प्रमुख र उपप्रमुख दुवैमा जितको संख्या केही बढाएको माओवादी केन्द्रले विगतमा आफ्नो प्रभाव क्षेत्र मानिएको क्षेत्रको नेतृत्व भने गुमाएको छ ।
प्रमुख र उपप्रमुख दुवै जितेका ८० मध्ये ३७
माओवादी केन्द्रले २०७४ को चुनावमा ७५३ पालिकामध्ये ८० पालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । तर, पाँच वर्षपछिको चुनावमा ती ८० पालिकामध्ये २४ वटामा मात्र प्रमुख र उपप्रमुख दुवै पद जित्न सक्यो ।
ती ८० मध्ये १३ वटाको प्रमुखमा यस वर्ष पनि माओवादी केन्द्रका उम्मेदवार नै निर्वाचित भए भने उपप्रमुखमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भए । समग्रमा माओवादी केन्द्रले प्रभाव क्षेत्र दाबी गरेको ८० पालिकामध्ये ३७ वटाको प्रमुख पद जोगायो र २८ वटामा उपप्रमुख । बाँकी ४३ वटाको प्रमुख र ५२ वटाको उपप्रमुख माओवादी केन्द्रले गुमायो ।
२०७४ मा माओवादी केन्द्रले जितेका १०६ मध्ये प्रमुख र उपप्रमुख दुवै जितेका ८० बाहेक २६ वटामा प्रमुख पद मात्र जितेको थियो । ती २६ मध्ये १७ पालिकाको प्रमुख पद माओवादी केन्द्रले जोगाउन सक्यो । समग्रमा माओवादी केन्द्रले २०७४ सालमा जितेका १०६ पालिका प्रमुखमध्ये ५४ पालिका प्रमुख मात्रै जोगाउन सकेको देखिन्छ ।
नयाँमा विस्तार
प्रभाव क्षेत्रमा खस्किए पनि माओवादी केन्द्र नयाँ क्षेत्रमा विस्तार भएको देखिन्छ । २०७४ मा १०६ पालिका प्रमुख जितेको माओवादीले यसपटक १२० पालिका प्रमुख जितेको छ । जसमा ६६ नयाँ पालिका छन् । अहिले माओवादी केन्द्रले जितेका यी स्थानीय तहमा अघिल्लो चुनावमा एमाले, कांग्रेस, मधेशकेन्द्रित दलका उम्मेदवार निर्वाचित भएका थिए ।
क्र.स. | प्रदेश | कुल पालिका संख्या | माओवादी केन्द्रले जितेको पालिका प्रमुख संख्या | |
२०७४ | २०७९ | |||
१ | प्रदेश नं. १ | १३७ | १६ | (–) १२ |
२ | मधेश प्रदेश | १३६ | २१ | (–) १० (एक अग्रता) |
३ | वागमती | ११९ | १७ | (+)२७ (एक अग्रता) |
४ | गण्डकी | ८५ | ५ | (+) ११ |
५ | लुम्बिनी | १०९ | १९ | (+)२५ |
६ | कर्णाली | ७९ | २६ | (–)२३ |
७ | सुदूरपश्चिम | ८८ | १० | (+)१४ |
प्रदेशगत रुपमा हेर्दा माओवादी केन्द्रले वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पालिका प्रमुखहरुमा जितको संख्या थपेको छ । प्रदेश १, मधेश प्रदेश र कर्णाली प्रदेशमा पालिका प्रमुखहरुमा जितको संख्या घटाएको छ । माओवादी केन्द्रले जहाँ यसपालि जितको संख्या घटाएको छ । त्यस क्षेत्रलाई माओवादी केन्द्रले विगतमा आफ्नो प्रभाव क्षेत्रको रुपमा लिंदै आएको थियो ।
प्रदेश १ मा स्थानीय पालिकाको संख्या १३७ छ । त्यसमध्ये माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा १६ वटा पालिकामा जितेको थियो । अहिले १२ पालिका प्रमुखमा सीमित भएको छ ।
२०७४ मा मधेश प्रदेशका १३६ पालिकामध्ये अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले २१ वटा पालिका प्रमुख जितेको थियो । अहिले मधेशमा उसको प्रभाव नराम्ररी खस्किएर ९ पालिका प्रमुखमा सीमित भएको छ । त्यसबाहेक रौतहटको फतुवा विजयपुर नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
चुनावअघि आफू मधेशमा बलियो रहेको भन्दै माओवादी केन्द्रले सत्ता गठबन्धनमा रहेका दलहरुसँग भागबण्डामा ४० भन्दा बढी पालिकामा दाबी गरेको थियो । सहमति नजुटेपछि मधेशका अधिकांश ठाउँमा माओवादी केन्द्रले तालमेल पनि गरेन । तर, परिणाम आउँदा माओवादीले दाबी गरे जस्तो पालिका संख्यामा जित हात पार्न सकेन ।
वागमती प्रदेशमा भने माओवादीले निकै सुधार गरेको छ । पालिका प्रमुखहरुमा जितको संख्या बढाएको छ । वागमतीका ११९ वटा पालिकामध्ये माओवादी केन्द्रले २०७४ को चुनावमा १७ वटा पालिका प्रमुख जितेको थियो । यसपालि बढाएर २६ पुर्याएको छ । त्यसबाहेक चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् ।
२०७४ मा स्थानीय तहको नेतृत्वमा माओवादी केन्द्रको सबभन्दा कमजोर उपस्थिति रहेको प्रदेशमा हो–गण्डकी । यो प्रदेशमा रहेका ८५ वटा पालिकामध्ये ०७४ को चुनावमा माओवादीले जम्मा ५ पालिका प्रमुख जितेको थियो । यसपालि यहाँ माओवादीको जित संख्या ११ पुगेको छ ।
तर माओवादीले जितेका ११ मध्ये ९ पालिका गोरखाका मात्र छन् । गोरखाबाहेक माओवादीले तनहुँको आँबुखैरेनी र बाग्लुङको ताराखोला गाउँपालिकाको प्रमुख पदमात्र जितेको छ । २०७४ सालको निर्वाचनमा जितेको लमजुङको दोर्दी गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रले यसपटक गुमाएको छ ।
लुम्बिनी प्रदेशमा एक उपमहानगरपालिकासहित १०९ वटा स्थानीय तह छन् । त्यसमध्ये २०७४ मा माओवादी केन्द्रले १९ वटामा पालिका प्रमुख जितेको थियो । यसपालि बढाएर २५ पुर्याएको छ ।
माओवादी केन्द्रले आफूलाई सबभन्दा ठूलो दलको रुपमा दाबी गर्दै आएको प्रदेश हो– कर्णाली । तर, यसपटक माओवादी केन्द्रले यो प्रदेशमा २०७४ को भन्दा कम पालिका प्रमुख जितेको छ । यो प्रदेशमा रहेका ७९ स्थानीय तहमध्ये अघिल्लो निर्वाचनमा २६ पालिका प्रमुख जितेको माओवादी केन्द्र यसपालि २३ पालिका प्रमुखमा सीमित भएको छ ।
सुदूरपश्चिम प्रदेशमा भने माओवादी केन्द्रले सुधार गरेको छ । यो प्रदेशमा रहेका ८८ वटा पालिकामध्ये माओवादी केन्द्रले अघिल्लो चुनावमा १० वटामा प्रमुख जितेको थियो । अहिले बढाएर १४ पालिका प्रमुख जितेको छ ।
प्रतिक्रिया 4