
९ जेठ, पोखरा । ०७४ को चुनावमा नेकपा एमाले प्रमुख र उपप्रमुखसहित बहुमत वडा जितेर पोखरा महानगरको नेतृत्वमा पुग्यो । नेपाली कांग्रेसले ३३ मध्ये ११ वटा मात्र जित्यो ।
अहिले वडा तहमा स्थिति उल्टिने अवस्थामा छ । २६ वटा वडाको नतिजा आउँदासम्म कांग्रेसले २१ वटा वडाको नेतृत्व जितिसकेको छ । एमाले १, ५, ६, ८, १५, २० र २९ गरी ७ वटा वडामा खुम्चिएको छ । ७ वटा वडाको मतगणना जारी छ, जसमध्ये ५ वटा वडामा कांग्रेसकै अग्रता छ भने २ वटामा एमालेको ।
वर्षौंदेखि एमालेको पकड क्षेत्र भनिएको वडामा समेत कांग्रेसले जित निकालेको छ । वडामा ठूलो जित निकालेर पनि कांग्रेस पंक्ति सन्तुष्ट भने छैन । वडा तहमा जिते पनि प्रमुख पद गुमाउने निश्चित भएपछि कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् ।
एकीकृत समाजवादीले मेयर पदमा जिते आफूहरु विजयी सभामा जाने कि नजाने भन्ने दुविधामा रहेको कांग्रेस कार्यकर्ता बताउँछन् । ‘पोखरामा धनराजले जितेको विजय र्यालीमा जाने कि नजाने, द्विविधामा छौं,’ कांग्रेस कार्यकर्ताको प्रश्न छ, ‘कोपिलाले हार्दा धनराजको विजय र्यालीमा कसरी जाने ?’
कांग्रेसको खुसी छैन मन !
सत्तारुढ गठबन्धनमा पोखराको मेयर नेकपा एकीकृत समाजवादी र उपप्रमुख कांग्रेसले लिने सहमति भयो । मेयर कुनै हालतमा छाड्न नहुने कांग्रेस, कास्कीका नेताहरुले दिएको दबावको केही लागेन । मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार बनिन् ।
वडामा पनि गठबन्धन गर्ने भन्दै माओवादीले ४, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २/२ वटा मागेको थियो । तर कार्यकर्ताले पदाधिकारीलाई कार्यालयमा थुन्नेदेखि कार्यालयमा तोडफोडसम्म गरेपछि वडामा गठबन्धन भएन । मतदानको दिनसम्म आइपुग्दा मेयर छाड्दा कांग्रेसमा देखिएको असन्तुष्टी मत्थर भयो ।
मतगणनाको १० औं दिनसम्म आइपुग्दा पोखरामा अहिलेसम्म १ लाख २२ हजार मत गणना भएको छ । करिब २१ हजार मत गणना गर्दा मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अगाडि छन् । तर उपमेयरमा भने कोपिला रानाभाट करिब २ हजार मतले पछाडि छिन् ।

तत्कालीन लेखनाथ नगरपालिका क्षेत्रबाट उम्मेदवार बनेकी कोपिलालाई उक्त क्षेत्रबाट धेरै मत आउने कांग्रेसको आँकलन थियो । उनले सोचे जस्तो मत पाइनन् । उनलाई एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले उछिनेकी छन् ।
तत्कालीन पोखरा उपमहानगर क्षेत्रका वडाको मत गणना गर्दासम्म उपमेयरमा रानाभाटले अग्रता लिइरहेकी थिइन् । तर पोखरा ८ (एमाले उपमेयर मञ्जुदेवी गुरुङको गृह) मा पुगेपछि रानाभाट पछाडि परिन् । उक्त मतान्तर लेखनाथ क्षेत्रबाट पूर्ति गर्ने कांग्रेसको आश थियो । तर त्यसअनुसार भएन ।
लेखनाथ क्षेत्रबाटै कोपिलालाई मत नआउनुमा कांग्रेसले सत्तारुढ गठबन्धनका अन्य दललाई आरोप लगाएको छ । आफूहरु इमान्दार भएर धनराजलाई भोट हाले पनि अरु भने सहयात्री नभएको उनीहरुको आरोप छ । ‘हामी इमान्दार भयौं,’ कांग्रेसका एक कार्यकर्ता भन्छन्, ‘तर, उपमेयरका हकमा गठबन्धनका सहयात्री दलहरु इमान्दार देखिएनन्, यसको गम्भीर समीक्षा हुन्छ ।’
गठबन्धन घटक जनता समाजवादी र माओवादी केन्द्रले भने कांग्रेसले एकलौटी गर्न खोजेकाले उपमेयरमा कोपिला रानाभाटलाई नरुचाएको बताउँछन् । ‘माओवादी र जसपाले एउटा वडा सदस्य माग्दा समेत नदिने स्थिति बन्यो । यसबाट तल्लो तहका कार्यकर्तामा असन्तुष्टि फैलियो,’ माओवादीका एक जिल्ला नेता भन्छन्, ‘धनराजको हकमा भने त्यस्तो भएन ।’
प्रतिक्रिया 4