
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा प्लाष्टिक प्रदर्शनी मेला आयोजना हुने भएको छ । प्लास्ट नेपाल फाउन्डेशनले १२, १३ र १४ जेठमा ‘प्लास्ट नेपाल २०२२’ आयोजना गर्न लागेको हो । फाउन्डेशनका अनुसार पहिलो संस्करण २०७१ र दोस्रो संस्करण २०७५ मा भएको थियो । अब हुने प्रदर्शनी तेस्रो हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा प्लाष्टिकजन्य उत्पादनहरु, यसका कच्चा पदार्थहरु र मेशिन उपकरणहरु समेतका विभिन्न १२६ वटा स्टलहरु राखिने छन् ।
नेपालका प्रमुख प्लाष्टिक उद्योगसहित भारत लगायत अन्य देशका समेत करिब ५ हजार प्लाष्टिक उद्योगी, व्यवसायी र अन्य दर्शकहरुले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।
नेपालमा प्लाष्टिक उद्योग व्यवसायको प्रवर्द्धन गरी उपभोक्ताहरुलाई गुणस्तरीय तथा सुलभ तरिकाले प्लाष्टिकजन्य वस्तुहरु उपलब्ध गराउन यस मेलाले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको आयोजक कमिटीका संयाेजक एवं प्लास्ट नेपाल फाउन्डेशनका उपाध्यक्ष विवेक तातेडले जानकारी दिए ।
प्रतिक्रिया 4