
९ जेठ, काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीको चुनाव चिह्न गाई माग गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चुनाव चिह्न गाई माग्ने निर्णय गरेको प्रचार विभाग प्रमुख सुरेश आचार्यले जानकारी दिए । राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट खडा हुने उम्मेदवारहरुलगायत राप्रपा नेपालप्रति सद्भाव देखाएर मतदान मतदातालाई धन्यवाद दिएको छ ।
यस्तै सरकारसँग पेट्रोलियम पदार्थमा गरेको अत्याधिक मूल्य वृद्धिलाई तत्काल नियन्त्रण गरी जनतालाई राहत प्रदान गर्न सरकारसँग माग गरेको छ ।
बैठकले राप्रपा नेपालको पार्टीको चुनाव चिह्न ‘तीर’ सहितको झण्डा सगरमाथाको शिखरमा फहराउने साहसी पर्वतारोही पासाङ शेर्पालाई स्व. नेता चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित एक लाख रुपैयाँ नगद सहितको ‘चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कार’ बाट पुरस्कृत गर्ने भएको छ ।
राप्रपा नेपालले आगामी संसदीय निर्वाचनबाट पार्टीलाई राष्ट्रिय मान्यताप्राप्त दल बनाउने लक्ष्य राखेको छ । त्यसका लागि भदौ महिनाको तेस्रो हप्ता भित्र देशको सम्पूर्ण पालिकाहरुका वडामा पार्टीको ईकाई समिति गठन गर्ने पनि राप्रपा नेपालले निर्णय गरेको छ ।
प्रतिक्रिया 4