
काठमाडौं । फिल्म छायांकनको सिलसिलामा यतिबेला बलिउड अभिनेत्री करिना कपूर दार्जीलिङमा छिन् । यसै क्रममा उनले आफ्ना को-स्टार विजय बर्मासँग सामाजिक सञ्जालमा एउटा भिडियो साझेदार गरेकी छन् ।
भिडियोमा उनलाई विजय र मेकअप आर्टिस्टसँग ‘फ्रेन्च फ्राइज’ खाएर रमाइरहेको देखिन्छ । भिडियो साझेदार गर्दै करिनाले क्याप्सन लेखेकी छन्, ‘जब तिख्खर चिसो हुन्छ….तपाईंलाई थाहा छ के गर्नुपर्छ ? फ्रेन्च फ्राइजमा चाट मसला र रातो खुर्सानी मिसाएर खानुहोस् ।’
करिनाको यो भिडियोलाई उनका प्रशंसकले पनि रमाइलो मानेर हेरिरहेका छन् । केहीले भिडियोमा प्रतिक्रिया दिंदै लेखेका छन्, ‘बेबो, चिया खै त ?’ अर्का प्रशंसकले लेखेका छन्, ‘स्न्याक टाइम । अब मलाई भोक लाग्यो ।’
उनका कतिपय प्रशंसकले करिनालाई दार्जीलिङ सहर घुम्नका लागि आग्रह गरेका छन् ।
खासमा करिना कपूर वेब सिरिज ‘द डिवोसन अफ सस्पेक्ट एक्स’को लागि दार्जीलिङ पुगेकी हुन् । उनी सुजाय घोसको समूहमा कालिम्पोङ र दार्जीलिङमा घुमिरहेकी छन् । दार्जीलिङमा छायांकन सिध्याएर करिना गान्तोक पुग्नेछिन् । यो मर्डर मिस्ट्री वेब सिरिजबाट करिनाले ओटीटी डेब्यु गर्दैछिन् ।
उक्त वेब सिरिज जापानी लेखक ‘केइगो हिगाशिनो’को उपन्यासमा आधारित छ । यस उपन्यासका लागि लेखकले विश्वका प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए ।
करिनासँग समय बिताउनका लागि सैफअली खान पनि दार्जीलिङ पुगे । आइतबार उनले आलुबारीको जंगलमा साहसिक पदयात्राको आनन्द उठाए । सैफ मुम्बईबाट चार्टर्ड प्लेनमा सिलगुडीको विमानस्थल हुँदै दार्जीलिङ पुगेका थिए ।
भनिहालौं, करिना प्रदर्शोन्मुख फिल्म ‘लाल सिंह चड्डा’मा आमिर खानका साथ देखिनेछन् । फिल्म ११ अगस्टमा सिनेमाघरमा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4